तपाईँ सुन्दै हुनुहुन्छः

वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ । 

अर्थ समितिका सभापति सन्तोष चालिसेले विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभयो ।

उहाँले विधेयकले मुलुकको समग्र आर्थिक विकासका लागि उच्च प्रतिफल दिने, दिगो पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी बढाउन परियोजनाको पहिचान, प्राथमिकिकरण, आन्तरिक स्रोत, स्वदेशी र विदेशी लगानी तथा विभिन्न वित्तीय उपकरणको यथोचित प्रयोगको आवश्यकता महसुस गरी स्वतन्त्र कोष स्थापनाको परिकल्पना गरेको बताउनुभयो ।

बैठकले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ र पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रस्तुत गर्नुभएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो ।   

प्रतिनिधिसभाको अर्को बैठक भोली शुक्रवार दिउँसो १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button