‘भारत र चीनबीच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य’

काठमाडौँ । प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले नेपाली भूमिको संरक्षण, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डताको रक्षा, भ्रष्टाचार, सुशासनलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताउनुभयो ।
महामन्त्री थापाले भारत र चीनबीच दुई देशबिच नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको विषय आचरणसँग जोडिएका कारण प्रश्न उठेको भन्दै त्यसलाई संवैधानिक परिषद्को अङ्कगणितसँग जोड्न आवश्यक नभएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाली भूमि माथिको आक्रमण सहन नसकिने भन्दै लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा कूटनीतिक रूपमा समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो ।
सचिव पौडेलले उपसभामुख रानाका विषयमा कुनै प्रमाणविना आरोप लगाउने, पटक पटक अपमान गर्ने काम भइरहेको भन्दै सामाजिक संस्था चलाएकै आधारमा घेराउमा पार्न नुहुने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले नेपाली भूमिमा छिमेकीहरूबाट चलखेल भएको, भरत र चिनबीच भएको सम्झौता अन्तर्राष्ट्रिय कानुन र पञ्चशीलको सिद्धान्त विपरीत रहेको भन्दै नेपालले त्यसलाई अस्वीकार गर्दै राष्ट्रियताको रक्षाका लागि दबाब दिन जरुरी रहेको बताउनुभयो ।
सांसदहरू रञ्जु झा, अब्दुल खान, रामप्रकाश चौधरी, प्रेम सुवाल, प्रभु शाहलगायतका सांसदहरूले बैठकको विशेष समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्