तपाईँ सुन्दै हुनुहुन्छः

 लोपोन्मुख अवस्थामा परम्परागत पानी घट्ट

बाजुरा । बाजुरामा परम्परागत पानी घट्ट हराउँदै गएका छन्। 

गाउँमा बिजुली पुगेसँगै आधुनिक कुटानी–पिसानी मिल सञ्चालनमा आएपछि परम्परागत पानी घट्टको अस्तित्व सङ्कटमा परेको हो।

पहिले एक गाउँमा दर्जनभन्दा बढी घट्ट सञ्चालन हुने गर्थे भने अहिले धेरै गाउँमा घट्ट हराइसकेका छन्। अहिले पनि केही गाउँमा एक–दुई घट्ट मात्र अस्तित्वमा रहेको देखिन्छ। बाँकी सबै ठाउँमा आधुनिक मिलहरूले परम्परागत घट्टलाई विस्थापित गरिसकेका छन्।

बडिमालिका नगरपालिका–५ का स्थानीय मनबिरे मिजारका अनुसार, “पानी घट्टमा पिसेको पिठोबाट बनेको रोटी स्वादिलो हुने भए पनि अहिले बाध्यताले मिलमा पिसेको पिठो बाट बनेको रोटी खानु परेको छ।” हाल बाजुराका ९ ओटै स्थानीय तहका गाउँहरूमा फ्याट फुट बाहेक पानी घट्ट देख्न मुस्किल भइसकेको छ।आधुनिक मिल घर पायक र छिटो हुने भएकाले दैनिक प्रयोगमा मिलमै भर पर्नु परेको स्थानीयको भनाइ छ।

यसरी परम्परागत सीप र संस्कृतिको प्रतीक मानिने पानी घट्ट लोप हुँदै जानु बाजुरा लगायत सुदूरपश्चिम र कर्णालीका स्थानीयका लागि चिन्ताको विषय बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button