तपाईँ सुन्दै हुनुहुन्छः

लिपुलेक–कालापानी भू–भागमा भारत–चीन सम्झौताबारे स्पष्ट पार्न सरकारको ध्यानाकर्षण  

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे भारत र चीनबीच व्यापारिक सम्झौता भएको भनिएको विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सासदहरुले नेपाली भूमिका विषयमा दुई छिमेकीबिच भएको भनिएको सम्झौताका विषय र सरकारको कदमबारे सदनमा स्पष्ट जानकारी दिन माग गर्नुभयो ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपालको भूमि लिपुलेक हुँदै भारत र चीनबिच व्यापार हुने सम्झौता भएको विषय नेपालको सहमति र जानकारी विना गर्न नमिल्ने भन्दै त्यसको विरोध गर्नुभयो ।

उहाँले नेपालको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथिको आक्रमण सैह्य नहुने भएकाले यसबारे उच्चस्तरीय कूटनीतिक संवादमार्फत निकास निकाल्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको भनिएको सम्झौता र त्यसप्रति सरकारको कदमबारे सदनमा स्पष्ट जानकारी दिन माग गर्नुभयो ।

प्रमुख सचेतक पाण्डेले नेपाली भूमिका विषयमा नेपाललाई जानकारी समेत नदिई भएको सम्झौता नेपालको सार्वभौमिकता र अखण्डता विरुद्ध भएको भन्दै दुवै छिमेकी मुलुकसँग कूटनीति र राजनीतिक पहल अगाडी बढाउन माग गर्नुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले नेपालको भूमि लिपुलेक र कालापानीको संरक्षणका लागि पहल गर्न नेपाल सरकारसँग माग गर्नुभयो ।

बैठकमा सांसदहरुले भारत र चीनबिच नेपालको भूमि लिपुलेक प्रयोग गरी व्यापार गर्न सम्झौता भएको भनि भारतबाट आएको विज्ञप्तिबारे सरकारले के गरिरहेको छ भन्ने विषयमा आधिकारिक धारणा सदनलाई तत्काल दिनुपर्ने बताउनुभयो ।

सांसदहरुले भारत र चीनबिच भएको सम्झौताबाट दुवै देश पछि हट्नुपर्ने, लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे नेपालले तथ्यप्रमाण सहित गरेको दावीका विषयमा भारतबाट आएको अभिव्यक्ति गलत भएको भन्दै यस्ता अभिव्यक्ति मान्य नहुने बताउनुभयो ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधि सभा बहिष्कार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button