प्रेस काउन्सिलद्वारा मिडिया काउन्सिल विधेयकबारे आधिकारिक धारणा प्रस्तुत

काठमाडाैँ । प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकबारे सरकारलाई आधिकारिक धारणा प्रस्तुत गरेको छ ।
काउन्सिलको प्रतिनिधिमण्डलले सो आधिकारिक धारणा प्रतिवेदनको रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई बुझाएको हो ।
संसद्मा छलफलमा रहेको उक्त विधेयकलाई थप व्यवस्थित बनाउन काउन्सिलले विभिन्न सञ्चार गृहका सम्पादक तथा विज्ञसँग लिएको सुझावसहित मन्त्री गुरुङलाई प्रतिवेदन बुझाएको हो ।
मिडिया काउन्सिल विधेयक अध्ययन तथा सुझाव उपसमितिका सदस्य एवं बोर्ड सदस्य शन्तराम विडारी, बोर्ड सदस्य विजयराज अधिकारी, उपसमितिका सदस्यसचिव तथा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र अनुगमन अधिकृत सञ्चिता घिमिरेको टोलीले प्रतिवेदन बुझाएको हो ।
सुझावसहितको प्रतिवेदन ग्रहण गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले मर्यादित र स्वतन्त्र पत्रकारिता साथै बलियो र स्वायत्त प्रेस काउन्सिलका पक्षमा सरकार रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्