महिलाहरूकै सङ्घर्षले वर्तमान उपलब्धि हासिल भएको हो: परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली महिलाहरूको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको हो भन्नुभएको छ । नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले भन्नुभयो “महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हासिल भएका छन् । महिलाले महत्वपूर्ण संवैधानिक अधिकार पनि प्राप्त गरेका छन् । त्यो सबै नेपाली महिलाहरूले गरेको सङ्घर्षकै उपलब्धि हो ।”

मन्त्री डा.राणाले नेपाली काङ्ग्रेसकै महिला नेतृहरू मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाहरूको योगदानको स्मरण गर्दै उहाँहरू र अरू पनि महिला नेतृहरूको लामो सङ्घर्ष र बलिदानी पछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट गर्नुभयो ।
तर वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै सङ्घर्ष गर्न बाँकी रहेको उहाँको तर्क थियो । उहाँले विसं २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्ति सम्मका सबै आन्दोलनहरूमा नेपाली महिलाहरूको सक्रिय सहभागिता रही आएको पनि स्मरण गर्नुभयो ।
मन्त्री डा.राणाले भन्नुभयो “उहाँहरूकै प्रेरणाबाट हामी पनि महिला अधिकारको सङ्घर्षमा लाग्यौँ र वर्तमान संविधान र नेपालका विद्यमान कानुनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौँ ।”
वर्तमान संविधानले नेपालको सङ्घीय तथा प्रदेश संसदमा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहहरूमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक हो भन्दै मन्त्री डा राणाले तर यी उपलब्धिको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यवहारिक बनाउन महिलाले नै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट गर्नुभयो ।
महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको र वर्तमान संवैधानिक सुनिश्चितताका लागि पनि संविधान लेख्ने बेलामा आफूहरूले निकै सङ्घर्ष गर्नुपरेको उहाँले स्मरण गर्नुभयो ।
मन्त्री डा राणाले अर्को एक प्रसङ्गमा महिलालाई राजनीतिमा सजिलो नरहेको अनुभव पनि सुनाउनुभयो । उहाँले भन्नुभयो “हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हाबी नै छ । महिलालाई राजनीतिमा सजिलो छैन । त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लड्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीहरूलाई जागरूक गर्यौँ, सशक्त बनायौँ र अधिकारका लागि अघि बढ्न तयार पार्यौँ ।”
उहाँले नेपालमा मात्र नभएर विश्वका अरू देशहरूमा पनि महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृहरुले सुनाउने गरेको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्