तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट

काठमाडौँ । सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गर्नुभएको छ ।

काठमाडौँमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुँदै सभामुखले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गर्नुभएको थियो । भेटमा उहाँले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीहरूलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सभामुखले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताउनुहुँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।

प्रतिनिधि मण्डलकी नेतृ हसनले नेपालले  हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ सफल रूपमा सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button