झापाका सबै स्थानीय तहमा स्वास्थ्य बिमा लागू, ७६ प्रतिशतले गराए बिमा
झापा । झापाको झापा गाउँपालिकासँग सम्झौता भएसँगै जिल्लाका १५ वटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ ।
यही भदौ १ गते झापा गाउँपालिकामा स्वास्थ्य बिमा लागू गर्ने सम्झौता भएको हो । यसअघि जिल्लाका १४ वटा पालिकामा स्वास्थ्य बिमा लागू भए पनि झापा गाउँपालिकामा बिमा कार्यक्रम सञ्चालन भएको थिएन । झापा गाउँपालिकाले सम्झौता गरेसँगै जिल्लाभरि नै स्वास्थ्य बिमा लागू भएको स्वास्थ्य बिमा बोर्ड झापा शाखाकी प्रमुख लक्ष्मी कँडेलले बताउनु भयो ।
२०७४ सालमा पहिलो पटक भद्रपुर नगरपालिकाले स्वास्थ्य बिमा लागू गरेको थियो । त्यसपछि अन्य पालिकाहरुले बिमा कार्यक्रम सञ्चालन गरेका थिए । झापाका ७६ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेको कार्यालय प्रमुख कँडेलले बताउनु भयो । ७ लाख ५६ हजार २४ जनाले शुल्क तिरेर स्वास्थ्य बिमा गरेका छन् भने ५० हजार ४७६ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।
२०७८ को जनगणना अनुसार झापाको जनसङ्ख्या ९ लाख ९८ हजार ५४ रहेको छ । स्वास्थ्य बिमा गराउनका लागि जिल्लाका १३१ वटा वडामा १७८ जना दर्ता सहयोगी परिचालित छन् ।








प्रतिक्रिया राख्नुहोस्