तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको ३० किलोमिटर सडकमा कालोपत्रे र ढलान

दोलखा । दोलखा जिल्लामा आर्थिक वर्ष ०८२/०८३ मा प्रदेश अन्तर्गतका झन्डै ३० किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिने पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले बताउनुभएको छ । 

पूर्वाधार विकास कार्यालय दोलखाले आर्थिक वर्ष ०८२/०८३ मा सहरी तथा स्थानीय सडक र पुल गरी एक सय ८२ वटा योजना सञ्चालन गर्ने र त्यसमा झन्डै ३० किलोमिटर सडक कालोपत्रे तथा ढलान हुने कार्यालय प्रमुख ओझाले बताउनुभयो । 

पूर्वाधार विकास कार्यालय दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ३३ वटा, जिरी नगरपालिकामा २५ वटा, मेलुङ गाउँपालिकामा २४ वटा, बैतेश्वर गाउँपालिकामा २३ वटा, तामाकोशी गाउँपालिकामा २१ वटा, गौरीशङ्कर गाउँपालिकामा १८ वटा, शैलुङ गाउँपालिकामा १५ वटा, कालिन्चोक गाउँपालिकामा १४ वटा र विगु गाउँपालिकामा आठ वटा योजना सञ्चालन गर्ने कार्यालय प्रमुख ओझाको भनाई छ । 

पूर्वाधार विकास कार्यालय दोलखाले सञ्चालन गर्ने योजनाहरूमा बहुवर्षीय योजनाहरू मध्य नौ वटा सडक र दुई वटा पक्की पुलको काम भइरहेको, सालवसाली ठेक्का अन्तर्गतका ४५ वटा योजनाको बोलपत्र आव्हान भई कार्तिक मसान्तभित्र ठेक्का मार्फत काम सुरु हुने र ४८ वटा योजना मङ्सिर मसान्तमा उपभोक्ता समिति मार्फत काम सुरु हुने कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

कार्यालयले आर्थिक वर्ष ०८१/०८२ मा भने मुख्य रूपमा ११.९ किलोमिटर सडकको नयाँ ट्र्याक निर्माण गरिएको, ६.९ किलोमिटर सडक कालोपत्रे गरिएको, ९.४९ किलोमिटर सडक ढलान गरिएको र २.७२ किलोमिटर सडक ग्रेभलिङ गरिएको कार्यालयका सूचना अधिकारी टङ्क प्रसाद तिवारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button