तपाईँ सुन्दै हुनुहुन्छः

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

'हुलाक टिकट राष्ट्रसेवक पहिचानको माध्यम: मन्त्री गुरुङ'

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक टिकटले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नु पर्ने बताउनुभएको छ।

काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “हुलाक टिकटले इतिहास जोगाउँछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्छ ।”

सरदार भीमबहादुर पाँडे देशभक्त काजी कालु पाँडेका छैठौँ पुस्ताको सन्तति हुनुहुन्छ । उहाँले भारतबाट वाणिज्य शास्त्र विषयमा स्नातकोत्तर गर्ने पहिलो नेपाली समेत रहनुभएको छ । प्रशासन, कूटनीतिक, लेखन लगायत समाजसेवामा उहाँले गरेको योगदानको सम्मान स्वरूप हुलाक टिकट प्रकाशन गरिनुले ठुलो उपलब्धि रहेको मन्त्री गुरुङको धारणा छ । साथै यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई असल कार्य गर्न प्रेरणा समेत मिल्ने उहाँले बताउनुभयो ।

हुलाक सेवा विभागले पछिल्लो समय देशभक्त र राजनीतिज्ञ सँगै समाजमा लोपोन्मुख रहेका रैथाने बाली, संस्कृति, परम्परा र जनजीवनको समेत हुलाक टिकटमा प्रकाशन गरेर प्रचार प्रसार गर्ने कार्य भएको जानकारी दिनुभयो ।

कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्त, छोराछोरी सहभागी हुनुहुन्थ्यो । जसमा उहाँका माइला छोरा हिमालय पाँडेले बुबा भीमबहादुर पाँडेको नाममा हुलाक टिकट प्रकाशन गर्नुले राष्ट्रबाट पुरै परिवार नै सम्मानित भएको महसुस गरेको बताउनुभयो ।

सञ्चार सचिव राधिका अर्यालले सरदार भीमबहादुरको जीवनी, सङ्घर्ष र योगदानबाट आफू सधैँ प्रेरित रहेको सुनाउनुभयो । खास गरी नेपालको प्रशासनिक क्षेत्रमा उहाँले देखाउनुभएको कुशलता र बुद्धिमताले आगामी पुस्ताको लागि महत्त्वपूर्ण पाठ बनेको सञ्चार सचिव अर्यालको धारणा छ ।

विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले सरदार भीमबहादुर पाँडे जस्ता राष्ट्रसेवकको नामको हुलाक टिकट केवल कागज मात्रै नभई सिङ्गो मुलुकको ऐतिहासिक दस्ताबेज रहेको बताउनुभयो । विभागले राष्ट्रमा योगदान पुर्‍याएका व्यक्तित्वको खोजी गर्दै  हुलाक टिकट प्रकाशन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button