तपाईँ सुन्दै हुनुहुन्छः

‘विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँ’

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आज उहाँले परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताउनुभएको छ । “यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्तामा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु । निरन्तर यो प्रयास भइरहेको छ”, मन्त्री डा राणाले उल्लेख गर्नुभएको छ । 

यसैगरी गत असोजमा दोहामा आयोजित ‘एसियन कोअपरेसन डाइलग’ (एसिडी) सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उहाँले सो विषय उठाउनुभएको थियो । इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेश मन्त्रीहरूसँग फोनमा र ती देशका नेपालस्थित राजदूतसँग भेटेरै डा राणाले विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रूपमा जारी राखेको बताउँदै मन्त्री डा राणाले इजरायल सरकार र हमासबीच युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएपछि आफ्नो कूटनीतिक पहललाई थप सक्रिय बनाएको स्मरण गर्नुभएको छ । 

उहाँले गत माघमा कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै विपिनको रिहाइका लागि आग्रह गर्नुभएको थियो । खुलाइफी शान्ति वार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ ।

यस्तै, इजरायलका विदेश मन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी मन्त्री डा राणाले सोही आग्रह गर्नुभएको थियो । त्यस क्रममा उहाँले हमासले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमा नै विपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह गर्नुभएको थियो ।

यसैगरी, इजिप्टका विदेश मन्त्री डा बदर अब्देल–अति तथा इरानी विदेश मन्त्रीसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट मन्त्री डा राणाले आग्रह गर्नुभएको थियो । आफ्नो शल्यक्रियाका लागि बैंककमा रहँदा मन्त्री डा राणाले त्यहीबाट इजिप्टका विदेश मन्त्रीसँग पनि फोनवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button