तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र चीनका तीन गाउँबिच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता

काठमाडौँ । चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका तीन गाउँबिच ‘जीवन्त गाउँ परियोजना’ मा सम्झौता भएको छ ।

सिएफआरडीले आज यहाँ आयोजना गरेको कार्यक्रममा ललितपुरका दुई र नुवाकोटको एक गाउँबिच सो परियोजना सञ्चालन गर्न सम्झौता भएको हो । 

चीनको कोइलुङ र ललितपुरको गोटी खेल, ललितपुरकै खोकना र चीनको प्याङयाङ एवं नुवाकोटको किम्ताङ र चीनको गउँगाङबीच सो सम्झौता भएको हो । आगामी दिनमा ती गाउँका अनुभव आदानप्रदान हुने जनाइएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङले सिएफआरडीले विगत १० वर्षदेखि निरन्तर खानेपानी, शिक्षा र गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यले दुई देशका जनस्तरको   सम्बन्ध थप दरिलो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा सिएफआरडीसँग मिलेर दुई देशको सम्बन्ध र विकासमा नयाँ युगको सुरुआत गर्न सकिने बताउनुभयो ।

ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले  सिएफआरडी परियोजनाले बालबालिकाको विकास र गरिबी निवारणमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनुभयो । समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीले गरिबी निवारणमा सिएफआरडीले महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

सो अवसरमा  सिएफआरडीका निर्देशक चेन हानटाउले नेपालको गरिबी न्यूनीकरण र मानवीय सहायताको क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिनुभयो । सो परियोजनाले नेपालमा हाइब्रिड धान खेती, उच्चस्तरीय सागसब्जी खेतीजस्ता कार्यक्रम सञ्चालन गरेर गरिबी न्यूनीकरणमा योगदान गर्दै आएको छ ।

कार्यक्रममा कृषि, विपद् व्यवस्थापन लगायतका क्षेत्रका सफल अनुभव प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button