सचेतना कार्यक्रम पछि सवारी दुर्घटनामा कमी
दोलखा । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले ट्राफिक सचेतनाको लागि स्कुल कार्यक्रम सञ्चालन गर्न थालेपछि सडक दुर्घटनामा कमी आएको ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद भट्टराईले बताउनुभएको छ ।

दोलखा जिल्लाको विभिन्न ठाउँमा हुने सडक दुर्घटनाको मुख्य कारणहरू मध्य ट्राफिक सचेतनाको अभाव पनि देखिएकोले आफू जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको प्रमुख भएर आएपछि ट्राफिक सचेतनाको लागि स्कुल कार्यक्रम सञ्चालन गरेको र त्यो निक्कै प्रभावकारी देखिएको प्रहरी सहायक निरीक्षक भट्टराईको भनाई छ ।
दोलखामा ट्राफिक सचेतना कार्यक्रम विद्यालयहरूबाट सुरु गरी कलेज तथा सार्वजनिक सवारी साधनका चालक–सहचालकसम्म विस्तार गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक भट्टराईले बताउनुभयो । अब यो कार्यक्रम सरकारी एवम् गैर– सरकारी कार्यालय र समुदाय स्तरसम्म विस्तार गर्ने योजना रहेको भट्टराईले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले २०८२ साल वैशाखबाट सुरु गरेको ट्राफिक सचेतनाको लागि स्कुल कार्यक्रम निरन्तर चलिरहेको जनाएको छ । हालसम्म दोलखाको भीमेश्वर नगरपालिका र मेलुङ, सैलुङ, बैतेश्वर एवम् तामाकोशी गाउँपालिकाको सामुदायिक तथा संस्थागत गरी ५७ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक तथा विद्यालयका सवारी चालक गरी सात हजार नौ सय ९२ जना लाभान्वित भएको ट्राफिक प्रमुख भट्टराईले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूलाई सडक प्रयोग गर्दा, सवारी साधनमा यात्रा गर्दा, सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरा, ट्राफिक सङ्केतहरूको बारेमा जानकारी, प्राथमिकता दिनुपर्ने सवारीका साधन, दुर्घटना भएको देखिएमा के गर्ने जस्ता विषयमा जानकारी गराइएको भट्टराईको भनाई छ ।
दोलखा जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु र ९९ जना घाइते भएकोमा सचेतना कार्यक्रम सुरु भएपछि आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु र ८१ जना घाइते भएको ट्राफिक प्रमुख भट्टराईले बताउनुभयो । यो तथ्याङ्क हेर्दा सचेतना कार्यक्रम पछि सवारी दुर्घटनाबाट हुने क्षतिमा क्रमशः कमी हुँदै आएको देखिएको भट्टराईको भनाई छ ।
भीमेश्वर नगरपालिका चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष दावा लामा पनि दोलखामा ट्राफिक सचेतना कार्यक्रम निक्कै प्रभावकारी देखिएको र यसले सवारी दुर्घटनाबाट हुने क्षतिमा कमी आएको बताउनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्