तपाईँ सुन्दै हुनुहुन्छः

बिच्छ्या बाढी पीडितको तत्काल पुनर्स्थापना गर्न गाउँपालिकाको माग

बाजुरा। बाजुराको हिमाली गाउँपालिकाले बिच्छ्याँ र कुवाडीका बाढीपीडितहरूलाई तत्काल पुनर्स्थापना गर्न सङ्घ र प्रदेश सरकारलाई अनुरोध गरेको छ। 

गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले बाढी पीडितहरूलाई पुनर्स्थापनाका लागि सङ्घ, प्रदेश सरकार तथा विभिन्न निकायसँग अनुरोध गर्ने निर्णय गरेको पालिका अध्यक्ष गोविन्द मल्लले बताउनुभयो। 

अध्यक्ष मल्लका अनुसार बाढीले घरजग्गा बगाएर घरबारविहीन भएकालाई पुनर्स्थापना र जोखिममा रहेकाहरूलाई तत्काल स्थानान्तरण गर्न अनुरोध गरिएको हो।

त्यस्तै, साउन २८ गते हिमाली गाउँपालिका-१ बिच्छ्याँ खोलामा आएको बाढीबाट प्रभावितहरूलाई पालिकाले राहत वितरण गरेको छ। बुधवार दिउँसो अविरल वर्षासँगै आएको बाढीका कारण पीडित बनेका बिच्छ्याँ र कुवाडीका स्थानीयलाई राहत वितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । 

बाढीबाट पूर्ण रूपमा क्षति भएका वडा नम्बर-१ बिच्छ्याँका ८ र वडा नम्बर ५ कुवाडीका १६ परिवारलाई राहत वितरण गरिएको हो।बाढीका कारण बिच्छ्याँ गाउँका ९ र कुवाडीका ३२ गरी ४१ घर उच्च जोखिममा रहेका छन्। बिच्छ्याँ खोलामा आएको बाढीले बिच्छ्याँ र कुवाडीमा ठुलो मात्रामा भौतिक क्षतिसँगै रोपिएको धान खेती बगरमा परिणत गरेको थियो।यता प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बाढीबाट भएको क्षतिको यकिन विवरण आएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत र पुनर्स्थापनाका लागि थप निर्णय गरिने बताउनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button