खहरे खोला जस्तो राजनीति दिगो हुँदैन : उपप्रधानमन्त्री पौडेल

पाल्पा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खहरे खोला जस्तो राजनीति दिगो नहुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ दलहरू बर्खामा उर्लने खहरे खोला जस्तै भएको भन्दै लामो भविष्य बोकेर नआएको टिप्पणी गर्नुभयो । उहाँले काँग्रेस र एमाले मात्र देशलाई स्थिरता दिने शक्ति भएको र २०८४ सालसम्म यी दुई दलकै सरकार रहने दाबी गर्नुभयो ।
सरकार ढल्छ भन्ने भ्रममा नबस्न आग्रह गर्दै मन्त्री पौडेलले विरोधमा रमाउनेहरूले राष्ट्रनिर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पश्चिम नेपालको ठुलो पाल्पा भगवती जात्रा अवलोकनका लागि पाल्पा पुगेका उपप्रधानमन्त्री पौडेलले यस वर्षको बजेटमा पाल्पाका लागि विशेष ध्यान दिइएको जानकारी दिनुभयो । उहाँले सिद्धार्थ राजमार्ग स्तरोन्नति, कालिगण्डकी कोरिडोर, माडी चक्रपथ, बल्डेङ्गगढीदेखि बाकामलाङसम्मको विकास र कालिगण्डकी ड्राइभर्सनलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
तानसेनको विकासमा पुरातात्विक महत्त्व जोगाउनुपर्ने धारणा राख्दै उहाँले श्रीनगर क्षेत्रमा सल्लाको सट्टा उत्तिस, पिपल र पौयु जस्ता रूख लगाउन सरोकारवालालाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्