रारा पर्यटन पदमार्ग: मजदुरले झण्डै एक वर्षदेखि ज्याला नपाएको गुनासो
मुगु । रारा पर्यटन पदमार्ग निर्माणमा संलग्न स्थानीय मजदुरहरूले झण्डै एक वर्ष बितिसक्दा पनि आफूहरूले काम गरेको ज्याला नपाएको गुनासो गरेका छन् ।
सम्बन्धित पदमार्ग निर्माण कम्पनीका प्रतिनिधि सँग बारम्बार ज्याला माग्दा पछि दिने भन्दै टारेपछि उक्त गुनासो गरेका हुन् ।
छायानाथ रारा नगरपालिका–३ का मजदुर नन्दलाल रावलका अनुसार ठेकेदार कम्पनीले आंशिक रकम त दिएको थियो तर सम्पूर्ण ज्याला अझै भुक्तानी भएको छैन। ‘एक बर्ष पुग्न लागि सक्यो पूरा ज्याला पाएका छैनाैँ’, अझ पनि ज्याला नदिए कानुनी बाटो रोज्नुको विकल्प छैन रावलले बताउनुभयाे ।

स्थानीय युवा राजकुमार खड्काको भनाई अनुसार ‘दैनिक ज्याला मजदुरी गरेर पेट पाल्छौँ’, महिनौँसम्म पसिना बगाउँदा पनि ज्याला नपाउँदा परिवार पाल्न तथा घर खर्च चलाउन कठिन भएको छ।”
त्यस्तै अर्का मजदुर कर्णबहादुर रावलले भने, “काम शुरु गर्दा ठेकेदारले समयमा पैसा दिने आश्वासन दिएको थियो, तर अहिले झण्डै एक वर्ष बित्दा पनि पूरा रकम दिन मानेको छैन।” आर्थिक मन्दी भएर समस्या भइरहेका बेला समयमै कामको पूरा ज्याला नपाउँदा बाल बच्चा पढाउन र घर खर्च चलाउन मुस्किल भएको छ, रावलको गुनासो छ ।
यता पदमार्ग निर्माण कम्पनीका साइट इन्चार्ज धनबहादुर विकका अनुसार पदमार्ग निर्माण गर्ने क्रममा प्राविधिक मापदण्ड अनुसार मजदुरले काम नगरेकाले पूरा ज्याला नपाएको बताउनु भएको छ । उहाँका अनुसार तोकिएको मापदण्ड अनुसार काम पूरा गरे रोकिएको सबै ज्याला दिइने छ ।

राराको पर्यटन प्रबन्धका लागी आर्थिक बर्ष ०७८.०७९ मा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, अन्तर्गत रारा पर्यटन पुर्वधार बिकास कार्यक्रम डिभिजन वन कार्यालय मुगुले रारा पर्यटकीय पदमार्ग निर्माणका लागि रू ४५ करोड, २९ लाख, १० हजार ४ सय ७९ रूपैंया ६५ पैसा लागत रकमको टेण्डर आह्वान गरी थोदुङ् क्याराभान जेभी प्राली सँग आर्थिक बर्ष २०७८/०७९ मा ठेक्का सम्झौता गरेको थियो ।

५ वर्षमा १४ किलो मिटर पदमार्ग निर्माण गर्ने शर्तमा भएको सम्झौता अनुरूप हाल १२ किलोमिटर लेनको सोलिङ्को काम सकिएको निर्माण कम्पनीले जनाएको छ । सम्झौताको निर्धारित मितिमै योजना सम्पन्न गर्नको लागी काम अघि बढेको र यही चालु आर्थिक बर्ष भित्र पिसिसी गरि पदमार्गको सबै काम पूरा गरिने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्