तपाईँ सुन्दै हुनुहुन्छः

शिशुवामा पहिलो पटक तायाःमचा नृत्य प्रतियोगिता र गाईजात्रा महोत्सव

पोखरा । नेवारी सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव पोखराको लेखनाथ, शिशुवा बजारमा पहिलो पटक आयोजना भएको छ । नेवा: खल कास्कीको आह्वानमा शिशुवा नेवा: खलले आयोजना गरेको प्रतियोगितामा ३४ टिमको प्रतिस्पर्धा जारी रहेको आयोजकले जनाएको छ ।

नेवारी समुदायमा परिवारका सदस्यको निधन भएको एक वर्षभित्र गाईजात्रा निकाल्ने परम्परा रहिआएको छ । गाईजात्रासँगै प्रस्तुत हुने बाजा र नृत्यलाई ‘तायाःमचा’ भनिन्छ । परम्पराअनुसार गाईजात्राका दिन घर–घरबाट तायाःमचा सहितको जुलुस निकालेर बजार परिक्रमा गराइन्छ । रात पर्न थालेपछि सहभागीलाई असुविधा हुने भएकाले गाईजात्रा सम्पन्न भएपछि पहिलो शनिवार तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने चलन बसाइएको नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।

विगत २० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष पहिलो पटक कोर पोखराभन्दा बाहिर, लेखनाथ क्षेत्रमा हुँदै छ । यसअघि प्रतियोगिता भैरबटोल, विन्ध्यवासिनी, तेर्सापट्टी, रानी पौवा, पृथ्वी चोक र राम बजारमा आयोजना गरिएको थियो। ‘लेखनाथले पहिलो पटक प्रतियोगिता आयोजना गर्न पाएको यो सुवर्ण अवसरलाई ऐतिहासिक बनाउन हामी लागिपरेका छौँ,’ सिशुवा नेवा: खलका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक अर्जुनकुमार ताम्राकारले भन्नुभयो ।

प्रतियोगिताले नेवार समुदायका टोल–टोलमा तायाःमचा निस्कने परम्परालाई जीवन्त राख्ने र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास आयोजकको छ । प्रतियोगितामा विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीयले ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीयले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा एक टोलीले सान्त्वना स्वरूप २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। महिलातर्फको विजेताले ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २५ हजार र सान्त्वना टोलीले २० हजार रुपैयाँ पाउनेछन्।

अघिल्लो वर्षको तुलनामा खुला प्रतियोगिताको प्रथम पुरस्कार करिब दुई लाख रुपैयाँले घटाइएको छ । अघिल्लो संस्करणमा प्रथम टोलीले ३ लाख १ रुपैयाँ पाएको थियो। आयोजकले भने, पुरस्कार राशि घटे पनि यस वर्षको प्रतियोगिता ऐतिहासिक र सहभागी सङ्ख्या दृष्टिले सबैभन्दा ठुलो हुने अपेक्षा गरिएको छ ।

उक्त प्रतियोगिता तथा महोत्सवको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरा विभिन्न जनजाति र भेषभुषाको धनी सहर भएको बताउनुभयो । पोखरा तालचोक बेगनास सडक खण्डमा स्थानीयले अवरोध नगर्न उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा पोखरा ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, रामकाजी गुरुङ लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button