तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) द्वारा पत्रकारहरू सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले १२ जना पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ।

महासङ्घले २६ औँ स्थापना दिवसको अवसरमा हिजो काठमाडौँमा नेपाल सरकारका सञ्चार तथा सूचना मन्त्री पृथ्बी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरी १२ जना पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गरेको हो।

फोनिज राष्ट्रिय पत्रकारिता सम्मान निवर्तमान अध्यक्षसमेत रहनुभएका गजुरधन राई (टेलिभिजन) र अमरध्वज लामालाई (रेडियो) प्रदान गरिएको छ। यस्तै प्रवास सम्मान मच्छे गुरुङलाई र फोनिज  राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान ‘कोचिला समाद’ राजवंशी त्रैमासिकलाई दिइएको छ। फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार सविन प्रियासन (छापा), मुनेस लायो मगर (अनलाइन) र बन्दना दनुवार (रेडियो) लाई प्रदान गरिएको छ। 

यस्तै फोनिज युके समिति बाट आश गुरुङ(कान्तिपुर संवाद दाता) र पत्रकार डोल्मा शेर्पा (इन्डिजिनियस टेलिभिजन), फोनिज मलेसिया समितिबाट पत्रकार सपना थामी र ज्ञानेन्द्र तामाङ ,फोनिज बागमती समितिबाट पत्रकार पूर्णबहादुर मगरलाई फोनिज अवार्ड २०८२ बाट सम्मान गरिएको छ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा  गुरुङले पत्रकारिता क्षेत्रमा समावेशी अभ्यास र समुदायको आवाजलाई मुख्य धारमा ल्याउन  पत्रकारहरूलाई अघि बढ्न सुझाव दिएका छन्।

पत्रकारहरूलाई मन्त्री गुरुङ, फोनिजका अध्यक्ष लक्की चौधरी ,युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पूर्वराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलगायतले फूलमाला, खादा र दोसल्ला ओढाई सम्मानपत्र र नगदसहित सम्मानित गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button