मुगुमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएन
मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा स्वास्थ्य बिमा कार्यक्रम अपेक्षित रूपमा प्रभावकारी हुन सकेको छैन। ६६ हजार ६५८ जनसंख्या रहेको जिल्लामा हालसम्म १२ हजार ९६५ जना मात्र बिमामा आवद्ध भएका छन्।
स्वास्थ्य बिमा शाखा मुगुका संयोजक तेजबहादुर बमका अनुसार छायाँनाथ रारा नगरपालिकामा ४ हजार ३६३, खत्याड गाउँपालिकामा ४ हजार २४२, सोरु गाउँपालिकामा ७२८ र मुगुम कार्मारोंग गाउँपालिकामा १ हजार ६२४ जना बिमित छन्। तीमध्ये ६ हजार ३३४ महिला र ६ हजार ६३१ पुरुष छन्।
जेष्ठ नागरिकलाई निःशुल्क सुविधा दिइए पनि सहभागिता न्यून छ। छायाँनाथ रारामा ४४०, खत्याडमा ४४३, सोरुमा ११९ र मुगुम कार्मारोंगमा १०५ जना मात्र बिमित छन्। जिल्लामा १२४ जना क वर्ग अपांग र ४१३ जना महिला स्वास्थ्य स्वयंसेविका पनि बिमामा सूचीकृत छन्।
५ सदस्यीय परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँमा १ लाख रुपैयाँ बराबरको उपचार सुविधा पाउने व्यवस्था छ, तर उपचार खर्चको १० प्रतिशत स्वयंले व्यहोर्नु पर्ने प्रावधान छ। प्रत्येक वडामा ४५ जना अभिकर्तामार्फत विस्तार अभियान भए पनि प्रचार–प्रसारको अभावमा कार्यक्रमको प्रभाव न्यून रहेको शाखाको भनाइ छ।
प्रतिक्रिया राख्नुहोस्