तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ पेश

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक २०८१ पेश भएको छ ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न, सांस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापनका लागि कानुन निर्माणको आवश्यकता भएकोले विधेयक पेश गरिएको बताउनुभयो ।

यस्तै बैठकले पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधानसभा सदस्य खड्गबहादुर बस्यालको ७३ वर्षको उमेरमा साउन २३ गते निधन भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ । 

स्वर्गीय बस्याल नेपाली काँग्रेसको तर्फबाट वि.स.२०६४ र ०७० सालमा संविधानसभा सदस्य हुनुका साथै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी समेत बहन गर्नुभएको थियो ।

यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले किसान तथा युवा सम्बन्धित समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरूले किसानलाई समयमै मलखाद, सिँचाइको चाँडै व्यवस्थापन गर्न र दक्ष युवा शक्ति पलायन हुनुले मुलुकको अर्थतन्त्र र समग्र विकासमा प्रभाव परिरहेको भन्दै सरकारले युवा लक्षित उद्यमशील योजना र कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले महिला, जनजाति,दलित, तथा सीमान्तकृत वर्गहरूलाई जनसङ्ख्याको आधारमा राजनीतिक तथा सामाजिक नेतृत्वको भूमिकामा ल्याइनुपर्ने पनि बताउनुभयो ।  

यस्तै सांसदहरूले त्रिभुवन विश्वविद्यालयमा विभिन्न माग राख्दै आएका विद्यार्थीका उचित मागको सम्बोधन गर्न, कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राख्नु मानवअधिकार विरुद्धको काम भएको भन्दै यस समस्याको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक साउन ३० गते शुक्रवार बिहान ११ बजेर ४५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button