किसान लाइनमा, मल गोदाममा, सहकारीलाई हाइसन्चो
नवलपरासी । मल अभावको समस्या एकातिर छ तर आएको मल पनि किसानकहाँ नपुग्दा किसान थप पिडामा छन् । निश्चित कोटा अनुसारको मल लिन किसान बिहानैदेखि चर्को घाममा लाइन बस्न बाध्य छन् ।

यता कृषि सामग्री कम्पनी लिमिटेड परासीमा आएको मल गोदाममा थन्किएको छ । सहकारी मार्फत मल वितरण गर्दै आएकोमा केही सहकारीहरूले समयमा नै मल नलगेपछि गोदाममा नै मल थन्किएको छ भने किसानलाई मलको हाहाकार भएको छ ।
धान गोड्ने बेला भएकाले किसानलाई भने मलको आवश्यकता छ । तर, सहकारीले मल नलैजाँदा किसानले मल पाएका छैनन् । भारतीय सीमासँग जोडिएका पालिकाका केही किसानले भारतीय बजार गएर मल ल्याए पनि अधिकांशले मल पाएका छैनन् । जिल्लामा ७७ वटा सहकारी मार्फत मल वितरण हुँदै आएको छ । तर , अहिले सम्म ३४ वटा सहकारीले मात्र मल लगेका छन् । साउन १९ गते कृषि सामग्री लिमिटेडमा आएको मध्य १ सय ३६ मेट्रिक टन गोदाममा रहेको कृषि सामग्री कम्पनीका शाखा परासीका प्रबन्धक ताराप्रसाद खनालले बताउनु भयो।
खनालका अनुसार पालिकाले सिफारिस गरे अनुसार मल वितरण हुँदै आएको छ । मल आएको एक हप्ता मात्र भएकाले केही सहकारीले मल लगेको र अन्यले पनि प्रक्रिया अगाडि बढाएको खनालले भनाई छ ।
सोमबार सम्ममा जिल्लाको सुस्ता गाउँपालिकाको १० वटा सहकारी मध्य एक वटा सहकारीले मात्र मल वितरणको लागि लगेको छ । सुनवल नगरपालिकाको २० मध्य ११ वटा, बर्दघाट नगरपालिकाको ८ मध्य ६ वटा, सरावल गाउँपालिकाको १३ मध्य ८, पाल्हिनन्दन गाउँपालिकाको ४ मध्य २, प्रतापपुर गाउँपालिकाको ८ मध्य २ र रामग्राम नगरपालिकाको १६ वटा मध्य ४ वटा सहकारीले मात्र मल लगेका छन् ।
समयमा मल उपलब्ध नहुने र मल आए पनि पर्याप्त नहुँदा किसान समस्यामा परेको सुस्ता गाउँपालिकाका उपाध्यक्ष गीता चौधरीले बताउनुभयो । पालिका भित्रका सबै सहकारीले एक दुई दिन भित्रमा नै मल ल्याएर वितरण गर्ने बताउँदै आफ्नो पालिकालाई आवश्यक मल कृषि सामग्री कम्पनी लिमिटेडले उपलब्ध गराउनुपर्ने चौधरीको भनाई छ ।
समयमा मल उपलब्ध नहुने र आए पनि पर्याप्त मल नपाउँदा सहकारीले मल वितरण गर्न आनाकानी गर्दै आएका छन् । सीमाको भारतीय बजारमा समेत नेपाली मलको मूल्यमा खासै रकम फरक नपरेपछि किसान थप मर्कामा परेका छन् । केहीले पहुँचका आधारमा मल लाने गरेको समेत गुनासो सुन्नमा आएको छ ।
प्रतिक्रिया राख्नुहोस्