तपाईँ सुन्दै हुनुहुन्छः

झापाको हल्दिबारीमा जङ्गली हात्तीले पाँच घर भत्कायो, एक महिला घाइते

भद्रपुर, झापा । केही दिनदेखि झापामा लगातार क्षति गर्दै आएको जङ्गली हात्तीले आज बिहान हल्दिवारीमा पाँच वटा घर भत्काएको छ । हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

हल्दिबारी गाउँपालिका वडा न.३ बाघडाँडामा तीन वटा जङ्गली हात्तीले निमाई बानियाको टिनको छाना तथा टिनको घेराबेरा भएको घर, खरको छाना र टिनको घेराबेरा भएको भान्साघर, सोही स्थान बस्ने हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्साघर भत्काएको छ ।

त्यस्तै हल्दिबारी–२ भेलागुडी सिमसारमा ३ वटा जङ्गली हात्तीले खेम गौतमको टिनको छाना र बाँसको टाँटीबेरा भएको घर र सोही स्थान बस्ने ४८ वर्षीय नरेश खड्काको इँटा–सिमेन्टले बनेको टिनको छाना भएको एक तले पक्की घरको पूर्वपट्टिको वाल भत्काएको छ । हात्तीले पर्खाल भत्काउँदा खड्काकी श्रीमती ४२ वर्षीया अम्बिका खड्का घाइते भएकी छन् । उनको दाहिने हातको पाखुरा र कुममा चोट लागेको छ ।

बस्ती पसेका हात्ती हात्ती स्थानीयको सहयोगमा आज दिउँसो जङ्गलतर्फ धपाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button