हिले पोखरीमा पूर्वजको कथा र प्राकृतिक आकर्षण
दोलखा। दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर– १ र सिन्धुपाल्चोक जिल्लाको सिमाना पानीढलोमा अवस्थित हिले पोखरी धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटकहरूको नयाँ गन्तव्य बनेको छ ।

शनिवार जनै पूर्णिमाको दिन कालिन्चोक मन्दिरमा पूजा– आराधनाको लागि पुगेका केही भक्तजनहरू हिले पोखरी समेत पुगेको स्थानीयले बताए ।
सत्य युगमा शिव– पार्वती समेत कैलाश पर्वत (गौरी– शङ्कर हिमालय पर्वत) बाट देउढुङ्गा, कमलमाई, ठिङसाङ पोखरी हुँदै हिले पोखरीमा स्नान गरी कालिन्चोक टापुमा आई तपस्या गरेको किंवदन्ती रहेको छ ।

कालिन्चोक टापुमा कालो भेडाले आई दैनिक दूध दिने भएकोले यो ठाउँलाई कालिन्चोक भगवती माई थान भनिएको किंवदन्ती रहेको स्थानीय झाँक्री डुकछिरी तामाङ बताउनुहुन्छ । अर्को थरी किंवदन्ती अनुसार कालिन्चोक कुण्डमा रहेको पानी तामाकोसी, सुनकोसी, दुधकोशी र फलामकोशी चारैतिर पुग्ने भएकोले यो टापुलाई कालिन्चोक भनिएको हो ।
कालिन्चोकको महिमासँग जोडिएकोले पनि प्राकृतिक रूपमा सुन्दर हिले पोखरी धार्मिक एवम् सांस्कृतिक रूपमा समेत महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् ।

प्राकृतिक रूपमा सुन्दर रहेको हिले पोखरीमा २०६५ सालसम्मै एक जोडी राज हाँस आएर क्रीडा गर्ने गरेको स्थानीय सुनाउँछन् । स्थानीय झाँक्री डुकछिरी तामाङका अनुसार हिले पोखरीमा पहिले– पहिले जोडी राज हाँसले पोखरी भित्र रहेको पात– पतिङ्गरहरू टिपेर सधैँ सफा राख्ने गर्थ्यो ।
२०६५ साल पछि भने पोखरीमा राज हाँस देख्न छोडिएको स्थानीयको भनाई छ । हिले पोखरी आसपास किसानहरूले भेडी तथा चौरी गोठ लाने भएकोले उनीहरूले पहिले हिले पोखरीमा धूप– बत्ती गर्ने प्रचलन समेत रहेको स्थानीयको बालकृष्ण तामाङको भनाई छ । हिले पोखरी २०७२ सालको भूकम्प अघि निक्कै ठुलो भए पनि भूकम्प पछि पोखरीको पानी सुकेर सानो भएको स्थानीय बालकृष्ण तामाङले बताए ।

३४ सय मिटर उँचाइमा रहेको हिले पोखरी पुग्न कालिन्चोक मन्दिरबाट झन्डै ढेड घण्टा पैदल यात्रा गर्नुपर्ने स्थानीयको भनाई छ । चरिकोटबाट सवारी साधनमार्फत कुरी पुगी केबुलकार हुँदै कालिन्चोक मन्दिर स्थल पुग्ने पर्यटकहरू पैदल यात्राको लागि हिले पोखरी पुग्न सक्ने कुरीमा रहेको सुनपाती होटेलका सञ्चालक एवम् पर्यटन व्यवसायी हरी ओली बताउँछन् ।

धार्मिक एवम् प्राकृतिक महत्वको हिले पोखरी कालिन्चोक पुगेर पैदल यात्रा गर्न चाहने पर्यटकको लागि महत्त्वपूर्ण गन्तव्य हुन सक्ने पर्यटन व्यवसायी ओलीको भनाई छ । डुकछिरी








प्रतिक्रिया राख्नुहोस्