चिकित्सा शिक्षा आयोगलाई पुनर्संरचना गरेर लैजानुपर्नेमा जोड

काठमाडौँ । चिकित्सा शिक्षा आयोगलाई पुनर्संरचना गरेर लैजानुपर्नेमा वक्ताहरूले जोड दिनुभएको छ ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजनामा गरेको ‘नेपाल चिकित्सा शिक्षा: अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले आयोगलाई समायनुकल परिमार्जन गरेर लैजानुपर्नेमा जोड दिनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जनशक्ति र गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै चिकित्सा शिक्षा आयोगलाई पुनरावलोकन गर्ने तयारी गरिएको बताउनुभयो ।
उहाँले नेपाल मेडिकल काउन्सिलको लाइसेन्सका फेल भएका विद्यार्थीलाई पढेको आधारमा काम गर्न दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाले प्रक्रिया पुरा गरेका नर्सिङ कलेजलाई स्वीकृत प्रदान गरेर नर्सिङ कलेजलाई व्यापक रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले मेडिकल कलेजलाई सम्बन्धन मात्र दिने तर अनुगमन नगरेको बताउनुभयो ।
उहाँले समितिले देशभरिका स्वास्थ्य संस्थाको अनुगमन गर्ने तयारी रहेको जानकारी दिनुभयो । “स्वास्थ्य क्षेत्रको विज्ञको साथ लिएर प्रत्येक स्वास्थ्य अवस्थामा जाने र त्यहाँको अवस्था र समस्या के छ भनेर तयार गरिरहेका छौ । त्यो प्रतिवेदन संसद्मा पेस गर्दछौ, ” उहाँले भन्नुभयो ।
उहाँले निजी र सरकारी मेडिकल कलेजलाई एउटै डालोमा राख्न नहुने भन्दै सरकारी मेडिकल कलेज नाफारहित र निजी मेडिकल कलेज नाफा हुनुपर्नेमा जोड दिनुभयो ।
मेडिकल काउन्सिलबाट लिइने लाइसेन्स परीक्षामा सबैभन्दा उत्कृष्ट हुने विद्यार्थी नेपालमा नै पढेको हुने गरेको उहाँको भनाई रहेको छ । “मेडिकल क्षेत्रमा नेपाल अब्बल रहेको छ । चीन, भारत र बङ्गलादेश पढेका चिकित्सक लाइसेन्समा फेल हुन्छन् । नेपालमा पढेका पास हुन्छन्,” उहाँले भन्नुभयो ।
प्रतिनिधिसभा सदस्य लीला देवी लिम्बुले चिकित्सा शिक्षामा भएका विकृति सुधार गर्न सक्यो भने गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य प्रा.डा. चन्दा कार्कीले स्वास्थ्य प्रणालीले देशको कस्तो छ भनेर देखाउने भन्दै क्षेत्रीय समानताका आधारमा मेडिकल कलेज खोल्नुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीले चिकित्सा शिक्षामा सरकारी लगानी कति प्रभावकारी भयो भनेर समीक्षा गर्नुपर्ने भन्दै नेपालका चिकित्सा शिक्षामा अबको बाटो के हो भनेर साझा धारणा गर्नुपर्ने बताउनुभयो ।

“मेडिकल कलेजले भौतिक पूर्वाधारमा एकदमै राम्रो छ । पाठ्यक्रम र शिक्षकमा अझै सुधार गर्नुपर्दछ,” उहाँले भन्नुभयो । उहाँले निजी मेडिकल कलेजलाई मात्र नभई सरकारी मेडिकल कलेजलाई पनि नियमन गर्नुपर्ने बताउनुभयो ।
उहाँले चिकित्सा शिक्षामा निजी मेडिकल कलेजको उल्लेखनीय योगदान गरेको चर्चा गर्नुभयो ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.चोपलाल भुसालले आयोगलाई पुन संरचना गर्नुपर्ने भन्दै चिकित्सा शिक्षाको हब बनाउन सकिने धारणा राख्नुभयो ।
“हाम्रो नीतिमा हामीलाई कति चिकित्सा शिक्षाका जनशक्ति चाहिने र बाहिरका कति विद्यार्थीलाई पढाउन भन्ने नीति बनाउनुपर्दछ,” उहाँले भन्नुभयो ।
काउन्सिलका अध्यक्ष डा.भुसालले नेपालको उत्पादन भएका जनशक्ति राम्रो भएको उल्लेख गर्दै सरकार चिकित्सा शिक्षाको अनुगमन चुकेको बताउनुभयो ।
“हामीले चिकित्सा शिक्षामा तथानाम खर्च धेरै गरेका छौ । छात्रवृत्तिमा दुई वर्ष काम गरेको मान्छे कहाँ भए । तिनको खोजी गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “ चिकित्सकको जागिर छैन । जागिर पाए पनि तलब कम छ । आवासीय चिकित्सक खाइनपाई दलिरहेका छन् । बाहिर चिकित्सकको राम्रो छ । त्यसैले बाहिर गइरहेका छन् ।”
काठमाडौँ विश्वविद्यालयका प्रा.डा.मनोज हुमागाईँ चिकित्सा शिक्षा आयोगले सिट सङ्ख्या र शुल्क तोक्ने आधार स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विश्वविद्यालयले नै चिकित्सा शिक्षाको प्रवेश परीक्षा पुनः पाउनुपर्ने बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. सुजनबाबु मरहठ्ठा चिकित्सा शिक्षा आयोगको वर्तमान अवस्था र भावी कार्य योजना बारे कार्यपत्र प्रस्तुत गर्दै चिकित्सा शिक्षालाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगको ध्यान रहेको बताउनुभयो ।
उहाँले गुणस्तरीय शिक्षा र राज्यको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादनमा आयोगको उद्देश्य रहेको भन्दै नेपालमा उत्पादनका भएका जनशक्ति जुनसुकै देशमा गएर काम गर्ने सक्ने बताउनुभयो ।
आयोगका निर्देशक प्रा.डा.मरहठ्ठा आयोगद्वारा सञ्चालित कार्यक्रममा गुणस्तरीय सुनिश्चितताका लागि मापदण्ड बनाउने तयारी भइरहेको बताउनुभयो ।
उहाँले आयोगले सबै विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नयाँ पाठ्यक्रमको मापदण्ड र परीक्षालाई कसरी व्यवस्थित बनाउने भन्ने काम अगाडि बढाएको बताउनुभयो ।
आयोगका निर्देशक प्रा.डा. मरहठ्ठाले राज्यले लगानी गरेर पठाएका जनशक्तिलाई स्वदेशमा आकर्षित गरेर राख्नुपर्ने बताउनुभयो ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुबोधकुमार शर्माले काउन्सिलको परीक्षामा नजिता खस्केको खस्के भन्दै चिकित्सा शिक्षामा गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्र बस्नेतले स्वास्थ्य शिक्षामा फड्को मारेको भन्दै भन्नुभयो, “ नेपालमा चिकित्सा जनशक्ति सङ्ख्यात्मक रूपमा पुग्दो मात्रामा रहेको छ । गत वर्ष मात्र सरकारका तीन वटा मेडिकल कलेज आएका छन् । अव हामी चिकित्सा सिट सङ्ख्या पुग्यो । गुणस्तरमा ध्यान दिनुपर्दछ ।”
उहाँले मुलुकलाई मात्र नभएर विदेशलाई हेरेर जनशक्ति उत्पादन गर्नुपर्ने धारणा राख्नुभयो । “हामीले दक्ष जनशक्ति उत्पादन गर्न लगानी गर्ने तर ती उत्पादन गरेका जनशक्ति विदेशमा गएर सेवा गरिरहेका छन् । यसलाई ध्यान दिनुपर्दछ,” उहाँले भन्नुभयो ।
निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की नेपालका चिकित्सा शिक्षाका सङ्काय कमी रहेको भन्दै चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयबीच तालमेल हुनुपर्ने बताउनुभयो । “सङ्काय कम छन् । त्यो सङ्काय बढाउन हामीले पहल गर्नुपर्दछ,” उहाँले भन्नुभयो ।
उहाँले आयोगका केही अधिकार विश्वविद्यालयलाई दिनुपर्ने भन्दै मेडिकल कलेजले शिक्षाको गुणस्तरमा कहीँ पनि सम्झौता नगरेको स्पष्ट पार्नुभयो ।
उहाँले पाँच हजार भारतीय विद्यार्थीलाई पठाउन सके पाँच हजार करोड रुपियाँ नेपालमा भित्र्याउन सकिने भन्दै अध्ययन गराएर सजिलै नै नेपालमा आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो ।
निजी मेडिकल तथा डेन्टल कलेज अफ एसोसिएसनका उपाध्यक्ष डा. बुद्धिमान श्रेष्ठले निजी क्षेत्र आफूलाई कमाउने मात्र नभएर सेवा गर्ने भावनाका साथ लगानी गरेको बताउनुभयो । उहाँले चिकित्सा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीलाई राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो ।
निजी मेडिकल तथा डेन्टल कलेज अफ एसोसिएसनका कोषाध्यक्ष शान्तराज बतासले भारतमा नेपालको प्रणाली अनुसार पास भएका पाँच हजार विद्यार्थीलाई नेपालमा ल्याउन सके आन्तरिक आर्थिक उपार्जन सहित चिकित्सा पर्यटन फस्टाउने बताउनुभयो ।
“भौतिक पूर्वाधार भारतभन्दा नेपाल राम्रो छ । नेपाल सुरक्षित पनि छ । यहाँ काम गरिरहेका विद्यार्थी बाहिर देशमा काम गरिरहेका छन्” उहाँले भन्नुभयो, “त्यसैले हामीले भारतका विद्यार्थीलाई मुलुकमा ल्याएर पठाउन सक्छौ । जसले गर्दा नेपालको आर्थिक सहित नेपाल चिकित्सा पर्यटन फस्टाउँछन् ।”
चिकित्सा शिक्षामा बाहिरका विद्यार्थीलाई ल्याउन सके वार्षिक एक खर्ब रुपियाँ भित्र्याउन सक्ने उहाँको भनाई रहेको छ ।
मञ्चका अध्यक्ष भिसा काफ्लेले चिकित्सा शिक्षामा देखिएका समस्यालाई उजागरण गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
मञ्चका उपाध्यक्ष संजिता खनालले स्वागत मन्तव्य राख्दै छलफलबाट आएको निष्कर्षले आगामी दिनमा चिकित्सा शिक्षा नीतिमा मार्गदर्शन हुने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्