त्रिवेणीधाममा स्नान गर्न भक्तजनको भिड
मुगु । छायानाथ रारा नगरपालिका–१ अन्तर्गत पर्ने ऐतिहासिक तथा धार्मिक स्थल त्रिवेणीधाममा आज बिहानैदेखि स्नान गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ।

साउन महिनाको शनिबार र विशेष तिथिमा त्रिवेणीधाममा स्नान गरे पाप नाश भई पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यही आस्थाले आज बिहान सूर्योदय नहुँदै नै नदी किनारमा भक्तजनको आगमन सुरु भएको हो।
स्थानीय स्रोतका अनुसार मुगुका विभिन्न गाउँटोल मात्र नभई आसपासका गाउँबाट समेत सयौँ भक्तजन विभिन्न देवताका धामीहरू पुजारी, त्रिवेणीधाम पुगेका छन् । पुरुष, महिला, वृद्ध, बालबालिका सबैले त्रिवेणी नदीको शीतल जलमा डुबुल्की लगाएर पूजा–अर्चना गरेका छन्। कतिपय भक्तजनले नदी किनारमै विशेष विधिबाट तिल, फूल र दीपदान गरेका थिए।

त्रिवेणीधामको धार्मिक महत्त्व निकै पुरानो छ। स्थानीय पुरानो मान्यताअनुसार, यस स्थलमा स्नान र पूजा गर्दा पितृको मोक्ष प्राप्त हुने, रोग–व्याधि दूर हुने र जीवनमा शान्ति, समृद्धि र सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ । यस्तै, यहाँ प्रत्येक वर्ष माघे संक्रान्ति, छठ, जनैपूर्णिमा लगायतका अवसरमा पनि ठूलो सङ्ख्यामा भक्तजन जम्मा हुने गर्दछन्।
त्रिवेणीधामको यो धार्मिक जमघटले मुगु जिल्लामा धार्मिक पर्यटनको सम्भावनालाई समेत उजागर गरेको छ। स्थानीय बासिन्दाहरूले यहाँको प्रचार–प्रसार गर्न सकेमा यो स्थल बाहिरी जिल्लाका पर्यटकको पनि आकर्षण बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्