बडिमालिका दर्शनपश्चात फर्कंदा थप एक तीर्थयात्रीको मृत्यु
बाजुरा । बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर थप एकजना तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको

ठाकुरबाबा नगरपालिका वडा नम्बर -४ निवासी ७५वर्षीय डिल्लीराज घोडासैनी रहनुभएको छ। बडिमालिकामा दर्शन गरेर आधा घण्टा तल झरेपछि एक्कासि लडेर करिब २सय ५० मिटर तल खोचमा खसेको र उद्धार कार्यका लागि प्रहरीको टोली घटना स्थलमा प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारिले जानकारी दिनुभयो ।
उहाँका अनुसार भौगोलिक विकटता र मौसम प्रतिकुलताका कारण मृतक घोडासैनिको उद्धारमा निकै समस्या भइरहेको छ। शनिवार बिहान बाटै उद्धार कार्यलाई निरन्तरता दिइएको भए पनि निकै कठिनाइ भइरहेको छ।मौसम प्रतिकुलताकै कारण सदरमुकाम मार्तडीमा स्टान्डर्ड राखिएको हेलिकप्टर समेत उड्न नसकेको प्रहरी प्रमुख हवारिले जानकारी दिनुभयो । यसअघि सोही ठाउँ नजिकै गोकर्णश्वर ५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लब ओझाको लडेर मृत्यु भएको थियो।
बडिमालिका मन्दिर बाट करिब १ घण्टाको दुरीमा तल झरी सकेका ओझाको हिँड्ने क्रममा लडेर मृत्यु भएको थियो।
बडिमालिका दर्शन गरेर बिहीबार राति नै हिँडेका ओझाको भिरबाट लडेर मृत्यु भएको करिब २४ घण्टा पछि शव प्रहरीले घटना स्थलबाट माथि सहज बाटोमा ल्याएको भए पनि मौसम प्रतिकुलताका कारण हेलिकप्टर उड्न नसक्दा मृतकको शव सम्बन्धित ठाउँ पुर्याउन असहज भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्