तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा लम्पी स्किनको संक्रमण, १७ सय पशुको मृत्यु

जनकपुरधाम । पशुहरूमा लाग्ने लम्पी स्किन रोगको संक्रमण मधेश प्रदेशका जिल्लाहरूमा देखा परेको छ । 

खास गरेर गाई, गोरु, राँगा, भैँसी, पाडापाडी तथा बाच्छावाछीमा लाग्ने लम्पी स्किनका कारणले मधेश प्रदेशका ५२ हजार ६ सय ८६ पशु संक्रमित भएको मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको हो ।

संक्रमित पशु चौपाया मध्ये २३ हजार ७ सय ९ पशु उपचारपछि निको भएको छ भने २७ हजार २ सय ७७ पशुमा अझै रोगको संक्रमण रहेको छ । लम्पी स्किनका कारणले १ हजार ७ सय पशुको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ । 

लम्पी स्किन विरुद्धको खोप मधेशमा १० हजार ३ सय २५ पशुमा लगाइएको छ । लम्पी स्किन रोग एक प्रकारका सरुवा रोग भएका कारणले रोग लागेको पशु मार्फत स्वस्थ पशुमा पर्ने भएकाले यसबाट स्वस्थ पशुलाई जोगाउनका लागि रोग लागेका पशुबाट टाढा राख्नु नै उत्तम विकल्प भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा.सञ्जीव कुमार ठाकुरले बताउनु भयो । 

विगत पाँच महिनाको अवधिमा नेपालमा ११ लाख ४ सय ९१ पशु यस रोगबाट संक्रमित भएको छ भने उपचार पश्चात् ८ लाख ६७ हजार ८ सय १० पशु निको भएको, १ लाख ८३ हजार ८ सय १ संक्रमित रहेको, ४८ हजार ८ सय ८० पशुको मृत्यु भएको छ । नेपाल सरकारले ३ लाख ५० हजार ९ सय २६ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाएको पशु सेवा विभागले जनाएको छ । 

यसै बीच सघन वस्ति भएको र व्यवसायी रुपमा गाई तथा भैसीपालन हुँदै  आएको जनकपुरधाम उपमहानगरपालिकाको केही वडामा लम्पी स्किन रोगको संक्रमण र त्यसबाट केही पशुको मृत्यु भएपछि यसको रोकथाम तथा नियन्त्रणका उपायका विषयमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको उपस्थितिमा सरोकारवालाहरूको बैठक आज सम्पन्न भएको छ । बैठकमा किसान, पशु चिकित्सक विभिन्न राजनीतिक दलका नेता सहितका उपस्थितिमा रोग नियन्त्रणका विषयमा छलफल भएको नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झाले जानकारी दिनु भयो ।  

लम्पी स्किन रोगबाट संक्रमित हुने पशुमा १०४ डिग्री फरेनहाइटसम्मको उच्च ज्वरो आउने, दानापानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गाह्रो गिर्खा–गाठाहरु देखिने, गिर्खा हराउने तथा कहिलेकाहीँ फुटेर गहिरो घाउ आउने, नाखुन, कल्चौडा र थुनमा घाउ आउने, खुट्टा जोर्नी सुनिने, गोवर तथा पिसाबमा रगत देखिने तथा केही पशुमा लक्षण पनि नदेखिने अवस्था पनि हुने गरेको पशु विज्ञहरुले बताउनु भएको हो । रोगको सही उपचार नभएको खण्डमा पशुको मृत्यु पनि हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button