मधेशमा वर्षाले किसानलाई ठूलो राहत
वीरगञ्ज। मधेश प्रदेशमा हाल भइरहेको वर्षाले किसानलाई ठूलो राहत पुगेको छ । आकाशे पानीको भरमा धान रोपाई गर्दै आएका किसानहरुले अहिले धमाधम धान रोपिरहेका छन् ।

कृषि ज्ञान केन्द्र, पर्साले जिल्लामा अहिलेसम्म ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ भने बारा जिल्लामा पनि आज सम्म ९२ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख राम जीवन ठाकुरले पछिल्लो समयमा पानी परेपछि धान रोपाइँ बढेर ९५ प्रतिशत पुगेको र एक दुई दिन भित्र रोपाइँ सम्पन्न हुने बताउनुभयो । आकाशे पानीको भरमा रहेका किसानहरूको धान रोपाइँ ढिला भएको उहाँले बताउनुभयो ।

प्रमुख ठाकुरले पर्सा जिल्लाका अधिकांश किसानले सोना मन्सुली जातको धान रोपेकाले उत्पादनमा ह्रास नहुने बताउनुभयो । उहाँले सोना मन्सुली धान ढिलो गरी उत्पादन हुने हुँदा रोपाइँमा समस्या आए पनि पछिल्लो समयमा तीन÷चार दिन परेको पानीले धानखेतीलाई निकै सघाएको बताउनुभयो ।
उहाँले पर्सा जिल्लामा ३९ हजार ७३१ हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकामा आजसम्म ३७ हजार ५५३ हेक्टर क्षेत्रफल अर्थात् ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको बताउनुभयो ।
यता कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले लामो समयको खडेरीपछि साउन १६ गतेदेखि परेको वर्षाले रोपाई कार्यले गति लिएको जानकारी दिनुभयो ।

सिम्रौनगढ नगरपालिका–८, कर्चोवाका किसान रामबहादुर यादवका अनुसार वर्षापछि गाउँका किसान खेतमै व्यस्त छन् ।
जिल्लामा भदैया र अगनीलगायत जातका बर्खे धान ४६ हजार हेक्टरमा लगाउने लक्ष्य राखिएको छ । हालसम्म ९२ प्रतिशत रोपाइँ सकिएको र बाँकी ८ प्रतिशत यसै साताभित्र पूरा हुने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश महराले बताउनुभयो ।
सरकारले बारा सहित मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरी भूमिगत सिँचाइ सहयोग कार्यक्रम सञ्चालन गरेको थियो, जसअन्तर्गत सात दिनमा दुई हजार ३ सय ९८ किसानले आवेदन दिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्