पोल्याण्डका नवनिर्वाचित राष्ट्रपति नावरोकीद्वारा सपथ ग्रहण

वार्सा । पोल्याण्डका नयाँ राष्ट्रवादी राष्ट्रपति कारोल नावरोकीले ‘सार्वभौम पोल्याण्ड’को आह्वान गर्दै बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
शपथ ग्रहण कार्यक्रमपछि उहाँले ‘देशलाई पतनतर्फ धकेल्नेविरुद्ध लड्ने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक ४२ वर्षीय नावरोकीले गत जुन १ मा भएको निर्वाचनमा युरोपेली परिषद्का पूर्वअध्यक्ष तथा प्रधानमन्त्री डोनाल्ड टस्कको इयु समर्थक सरकारलाई ठूलो झट्का दिनुभएको थियो ।

“म ती मानिसहरूको आवाज हुनेछु जसले सार्वभौम पोल्याण्ड चाहन्छन् जुन इयूमा छ, तर पोल्याण्ड जुन इयू होइन,” उहाँले आफ्नो पदको शपथपछि सांसदहरूलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो ।
उहाँले २० औँ शताब्दीको सुरुतिर पोल्याण्डको प्रधानमन्त्री रहनुभएका इग्नेसी पाडेरेव्स्कीलाई उद्धृत गर्दै भन्नुभयो, “हामीले देशलाई पतन र विनासतर्फ धकेल्नेहरूसँग लड्नुपर्छ।”
इतिहासकारबाट नव राजनीतिज्ञ हुनुभएका नावरोकीले टस्कको सरकारलाई उत्तर–साम्यवादी पोल्याण्डको इतिहासमा ‘सबैभन्दा खराब’ भन्नुभएको छ ।

राष्ट्रियताको सवालमा कसैसँग घुँडा नटेक्ने
संसद् बाहिर हजारौँ मानिस नावरोकीलाई समर्थन जनाउन उपस्थित भएका थिए ।
“नावरोकीले ब्रसेल्सका सामु घुँडा टेक्नुहुनेछैन”, ७५ वर्षीया प्रशंसक जान स्मोलिन्स्कीले एएफपीसँग भन्नुभयो, “उहाँ राष्ट्रको लागि रगत र मासुजस्तै आवश्यक एक राष्ट्रप्रेमी व्यक्ति हुनुहुन्छ ।”
पेसाले डेन्टल असिस्टेन्ट रहनुभएकी ५७ वर्षीया मारिएटा बोर्जले नावरोकी क्याथोलिक भएकाले उहाँले क्रिश्चियन मूल्यमान्यतालाई कायम राख्नुहुनेछ भन्ने कुरा हाम्रा लागि महत्वपूर्ण रहेको छ।

चुनावी अभियानका क्रममा नावरोकीले पोल्याण्डमा गर्भपतनमा लगाइएको पूर्ण प्रतिबन्धलाई खुकुलो बनाउने वा समलिङ्गी नागरिक साझेदारीलाई अनुमति दिने सम्भावनालाई अस्वीकार गर्नुभएको थियो।
उहाँको विरोधमा उत्रिएको करिब २० जना प्रदर्शनकारीको एउटा सानो समूहले ‘पोल्याण्डका लागि कालो दिन’ भन्दै कालो गुलाफ हातमा बोकेर प्रदर्शनमा सहभागी भएको छ ।
सेवा निवृत्त अर्थशास्त्री ७२ वर्षीय स्टानिस्लावा स्क्लोडोव्स्काले आफ्नो देशको निर्वाचनले ‘पोल्याण्डको परम्परागत ध्रुवीकरणबाट बाहिरिने जोखिम निम्त्याएको’ बताउनुभयो ।

चुनावी अभियानका क्रममा ट्रम्पको समर्थन लिन वासिङ्टन पुगेका नावरोकीले उदारवादी उम्मेदवार राफल ट्रजास्कोव्स्कीलाई पराजित गर्दै झिनो मतान्तरसहित विजय हुनुभएको थियो ।
परिणामले छिमेकी युक्रेनको प्रमुख समर्थक युरोपेली सङ्घ र नेटो सदस्य राष्ट्रमा उच्च स्तरको राजनीतिक ध्रुवीकरण देखाएको छ ।
पोल्याण्डका राष्ट्रपतिहरूले कानूनको सुरुवात र भिटो प्रयोग गर्न सक्छन् र देशको विदेश र रक्षा नीतिहरूमा केही प्रभाव पार्न सक्छन्। रासस








प्रतिक्रिया राख्नुहोस्