नेपाल पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष भण्डारीको निधन
कञ्चनपुर । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष कञ्चनपुर निवासी वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा निधन भएको छ ।

पत्रकार भण्डारीको बुधवार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका भण्डारीको उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ निवासी भण्डारीले लामो समय कञ्चनपुरबाट प्रकाशित जनमानस साप्ताहिक लगायतका पत्रपत्रिकाको सञ्चालन तथा सम्पादन गर्दै पत्रकारिता गर्नुभएको थियो । उहाँले पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदान स्मरणीय र महत्त्वपूर्ण रहेको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले ठहर गरेको छ ।
महासङ्घले एक विज्ञप्ति जारी गर्दै पत्रकार भण्डारीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “भण्डारी जस्तो योग्य, अनुभवी र कुशल अभिभावकको निधनले समग्र पत्रकारिता क्षेत्रले अपूरणीय क्षति बेहोर्नुपरेको छ ।” उहाँको निधनप्रति नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । महासङ्घले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । स्वर्गीय भण्डारीका श्रीमती र दुई छोरा छन् ।
प्रतिक्रिया राख्नुहोस्