तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली सिफारिसपत्र पठाउनेलाई कांग्रेस रोल्पाको चेतावनी

रोल्पा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाले पार्टीको नाम र कागजात दुरुपयोग गरी विदेशमा गलत सिफारिसपत्र पठाउने केही व्यक्तिहरूप्रति कडा आपत्ति जनाउँदै, यस्तो गैरकानुनी कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

काँग्रेसले एक विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएको हो । जारी विज्ञप्तिमा, नेपाली कांग्रेसको लेटरप्याड, छाप र हस्ताक्षर नक्कली बनाएर आफूलाई पार्टीको साधारण वा क्रियाशील सदस्य भएको र माओवादी कार्यकर्ताले डर,धम्की दिएकाले नेपालमा बस्न नसकेको भनी झूठो परिचय दिँदै विदेश (विशेष गरी अमेरिका र अन्य आप्रवासन मुलुकहरू) मा नेपालीहरूलाई सिफारिस गरेको पाइएको उल्लेख गरिएको छ ।

सभापति किशोरकुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ –“माओवादी पार्टीका नाममा गलत विवरण राखी कांग्रेसको नक्कली कागजात प्रयोग गरेर वैदेशिक नियोगमा सिफारिस पठाउने कार्य गम्भीर विषय हो माओवादी पार्टीको नामसमेत बेचिएको जस्तो देखिन्छ, जुन अत्यन्त दुर्भाग्यपूर्ण र आपत्तिजनक हो।”

कांग्रेस रोल्पाले विदेशमा रहेका पार्टी जनसम्पर्क समिति, नेपाली दूतावासहरू र अन्य सरोकारवाला संस्थाहरूसँग समन्वय गरी यस्ता झूटा गतिविधिको छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेको छ ।

पार्टीले सबैलाई चेतावनी दिँदै भनेको छ  कृपया कांग्रेस, माओवादी वा अरू कुनै पार्टीको नाम बेचेर झूटा सिफारिस नगन सत्य र वैधानिक मार्ग अवलम्बन गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button