तपाईँ सुन्दै हुनुहुन्छः

बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक प्रतिनिधिसभामा पेस नहुने: मन्त्री चौरसिया

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले समाजमा नकारात्मक असर पर्ने गरी बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक प्रतिनिधिसभामा पेस नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आकस्मिक, शुन्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौरसियाले कानुन निर्माणले समाजको आवश्यकता परिपूर्ति गर्ने, समाजको विकासलाई टेवा पुर्‍याउँदै सामाजिक सद्भाव र अमन चयन तथा अनुशासन कायम गर्ने रहेको भन्दै सामाजिक व्यवस्थामा नै खलल पुुग्नेगरी कानुन निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन नसक्ने बताउनुभयो ।

उहाँले मन्त्रीपरिषद्को विधेयक समितिमा विधेयकको मस्यौदा विचाराधिन रहेकै अवस्थामा केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचार प्रसारण भएको विषयमा सांसदहरुले चासो व्यक्त गरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

सरकारले बहुविवाह गर्न पाउने कानुन ल्याउन लाग्यो भन्ने प्रतिनिधिसभा र बाहिर पनि विरोध भएपछि मन्त्री चौरसियाले जवाफ दिनुपरेको भन्दै समाजमा नकारात्मक असर पर्ने व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button