तपाईँ सुन्दै हुनुहुन्छः

सन्दर्भ स्तनपान महिना: कार्यस्थलमा छैन स्तनपान कक्ष

चितवन । सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको छ । निजी क्षेत्रमा भने यो सुविधा अझै सबैले पाइसकेका छैनन् । यसो त स्वस्थ बच्चाका लागि कम्तीमा दुई वर्ष नियमित स्तनपान गराउनुपर्ने हुन्छ ।

तीन महिनापछि नियमित काममा फर्किने कर्मचारी होस् वा पेसा व्यवसायमा लाग्नेहरूले चाहेर पनि आफ्ना सन्तानलाई आवश्यक मात्रामा स्तनपान गराउन पाएका हुँदैनन् । काम गर्ने थलोमा स्तनपान गर्नका लागि ठाउँको अभाव हुने गर्दछ ।  

इलाम घर भएर व्यावसायिक कीट विकास केन्द्र भन्डारामा कार्यरत सुरुचि त्रिपाठीको शिशु अहिले एक वर्ष छ महिना पूरा भएको छ । उहाँ कृषि विकास कार्यालय चितवनमा कार्यालयमा हुँदा नवजात शिशुलाई जन्म दिनुभयो । शिशु जन्मिएपछि तीन महिना नियमित आमाको दूध खुवाएको भए पनि पछि कार्यालयको कामको चापले गर्दा नियमित स्तनपान गराउन पाउनुभएन । उहाँले भन्नुभयो, “घर र कार्यालय दुवैमा सहयोग गर्ने व्यक्ति भयो भने सहज हुने रहेछ ।”

कार्यालयमा कार्यालय प्रमुख कस्तो छ भन्नेमा भर पर्नुपर्ने हुँदा समस्या हुने उहाँको भनाइ छ । टाढा घर हुनेलाई बच्चाको हेरचाहदेखि नियमित स्तनपानको समस्या हुने गरेको उहाँले बताउनुभयो । बच्चा आमाको दूधमा निर्भर हुने समयमा बच्चालाई छाडेर जाँदा उसको शारीरिक वृद्धिमा समेत समस्या हुने गरेको उहाँले बताउनुभयो ।

बच्चाको सुनौलो एक हजार दिन भन्ने गरिए पनि सरकारी तथा निजी क्षेत्रमा कार्यरत आमाहरूलाई स्तनपान गराउन समय नमिल्ने उहाँले बताउनुभयो ।

पत्रकार प्रतिमा सिलवाल आफूले छोरालाई चार महिनामात्रै नियमित स्तनपान गराउन पाएको बताउनुहुन्छ । काठमाडौँमा बसेर काम गर्दै गर्दा कार्यालय टाढा भएकाले दिउँसोको समयमा स्तनपान गराउन नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “एकातर्फ मलाई गाह्रो हुन्थ्यो, अर्कोतर्फ बाबुलाई ल्याक्टोजिन खुवाउनु पर्थ्यो ।” आफूलाई जस्तै धेरै आमाहरूले यो समस्या भोगिरहेको सिलवाल बताउनुहुन्छ ।

भरतपुर महानगरपालिका–९ शरदपुर निवासी स्वस्तिका चौहानको पनि समस्या उस्तै छ । शिशु जन्मिएको तीन महिनादेखि कार्यालयको काममा आउनुभएकी उहाँको बच्चा अहिले एक वर्ष छ महिनाको छ । नजिकै घर भएकाले त्यस्तो ठूलो समस्या नभए पनि महिला कर्मचारीलाई बच्चा जन्मिएपछि समस्या हुने गरेको उहाँले बताउनुभयो ।

सरकारी कर्मचारी उहाँ बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालयमा काममा हुँदा बच्चालाई आवश्यकताअनुसार स्तनपान गराउन कठिन हुने बताउनुहुन्छ । हरेक दुई/दुई घण्टामा बच्चालाई स्तनपान गराउन जान समेत सम्भव नहुने हुँदा समस्या पर्ने गरेको उहाँको भनाइ छ ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका बाल रोग विशेषज्ञ डा. स्वेच्छा अधिकारी स्तनपान बच्चाको पहिलो र सबैभन्दा महत्वपूर्ण आहार भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो केवल खाना मात्र होइन, रोगसँग लड्ने शक्ति दिने प्राकृतिक औषधि पनि हो ।”

स्तनपान बच्चा र आमा दुवैका लागि अमूल्य उपहार भएको बताउँदै डा. अधिकारीले भन्नुभयो, “आमाको दूध सिधै स्तनबाट बच्चालाई दिइन्छ । यसमा कुनै तयारी गर्नु पर्दैन, तापक्रम पनि बच्चाका लागि उपयुक्त हुन्छ र यो पूर्ण रूपमा सङ्क्रमणमुक्त हुन्छ ।”

आमाको दूधमा बच्चाको रोगसँग लड्ने क्षमतालाई बढाउने तत्त्वहरू हुने जनाउँदै उहाँले स्तनपान गराइएका शिशुहरूको मस्तिष्क विकास अन्यको तुलनामा बढी राम्रो हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आमाको दूधमा यस्तो तत्त्व हुन्छ जुन न्यूरोलोजिकल विकासमा सहयोग गर्छ, जुन गाई वा अन्य दूधमा हुँदैन ।”

बच्चालाई आमासँग नजिक हुनु, सुरक्षित महसुस हुनु र मायाको अनुभूति हुनु यहीँबाट सुरु हुने उहाँको भनाइ छ ।  डा. अधिकारीले भन्नुभयो, “पूर्ण रुपमा स्तनपान गरेको बच्चामा एलर्जी, दम, पेटको सङ्क्रमण, मोटोपन, मधुमेह, उच्च रक्तचाप र मुटुको रोगहरू कम हुने सम्भावना हुन्छ ।”

बच्चालाई मात्रै नभएर स्तनपानले आमालाई पनि फाइदा हुने उहाँको भनाइ छ । डा अधिकारीका अनुसार बच्चा जन्मेपछि जब आमाले स्तनपान सुरु गर्छिन्, तब पेटभित्रको बच्चा बस्ने अङ्ग (गर्भाशय) खुम्चिन थाल्छ । यसले गर्दा धेरै रगत बग्ने सम्भावना घट्छ र आमाको शरीर चाँडै ठिक हुन मद्दत हुन्छ ।

स्तनपान प्राकृतिक गर्भनिरोधक हुने बताउँदै डा. अधिकारीले क्यान्सरको जोखिम घटाउने बताउनुभयो । भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा खेमप्रसाद पौडेलले स्तनपानका फाइदा बुझाउन आवश्यक रहेको बताउनुभयो । नवजात शिशुलाई दुई वर्षसम्म स्तनपान गराउनुपर्ने उहाँले बताउनुभयो । शिशुहरूको राम्रो बृद्धिविकासका लागि महत्वपूर्ण आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यालयमा अनिवार्य रुपमा स्तनपान कक्ष हुनुपर्ने, स्तनपान गराउने आमाहरूलाई अतिरिक्त समय व्यवस्थापन गरिदिनुपर्ने, आम नागरिकले आफ्नो ठाउँबाट स्तनपान गराउनका लागि सहयोग गरिदिनुपर्ने उहाँको सुझाव छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button