डडेल्धुरामा अढाई करोड खर्चेर बनेको औद्योगिक ग्राम प्रयोगविहीन
डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिकै ढुनढुनेमा अढाई करोड रुपैयाँ खर्चेर निर्माण गरिएको औद्योगिक ग्राम भवन प्रयोगमा नआएर अलपत्र परेको छ।
नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा २०७८ कात्तिकमा टेण्डर सम्झौता भई निर्माण सुरु गरिएको भवन २०७८–८१ को अवधिमा निर्माण सम्पन्न भएको हो। अमरगढी नगरपालिका–१ मा निर्माण गरिएको सो भवन ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ अवधारणाअनुसार स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण गरिएको हो।
सरकारको लक्ष्य स्थानीय उत्पादन र रोजगारी प्रवर्द्धन भए पनि औद्योगिक ग्राम सञ्चालनमा नआएपछि सो लक्ष्य अधुरो बनेको छ। पर्याप्त बजेट अभावका कारण उद्योग स्थापनाको काम अघि बढ्न नसकेको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिनुभयो।
करीब दुई करोड ६१ लाख रुपैयाँको लागतमा जोशी–अमृत जेभी निर्माण कम्पनीले भवन निर्माण गरिसकेको छ। तर उद्योग स्थापना नहुँदा परिसरमा झाडी पलाएको छ भने भवनसम्म पुग्ने करिब २०० मिटर कच्ची बाटो वर्षातले भत्किएको छ। भवनअगाडि निर्माण गरिएको पर्खालसमेत चिरिन थालेको छ।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने कैलाली–डडेल्धुरा भीमदत्त राजमार्गसँगै जोडिएको यो संरचना समयमै प्रयोगमा ल्याउन सकिएमा स्थानीय रोजगारी र उद्यम प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ।
प्रतिक्रिया राख्नुहोस्