बेपत्ता दाजु-बहिनी मृत फेला
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा बेपत्ता भएका दाजु बहिनी मृत अवस्थामा फेला परेका छन् ।

याङवरक १ च्याङथापु स्थित बिरुवा गाउँमा गत शुक्रवारबाट बेपत्ता भएका ९ वर्षीय शिशिर राई र ६ वर्षीय नमुना राई बिरुवा खोलामा मृत अवस्थामा फेला परेका हुन् । स्थानीयवासीले मङ्गलवार बिहान नमुनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा शिशिरको शव करिब २०० मिटर तल सोही खोलामा भेटिएको प्रहरीले जनाएको छ ।
गत शुक्रवार बिहान विद्यालय जान घरबाट निस्किएका दाजु बहिनी बेपत्ता भएका थिए । घर बाट करिब १५ मिनेट उकालो बाटो हिँडेपछि उनीहरूले पढ्ने पूर्ण आधारभूत विद्यालय पुगिन्छ । विद्यालय तर्फ नगई नजिकै रहेको बिरुवा खोलामा पौडी खेल्ने क्रममा उनीहरूलाई बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक सोही ठाउँका बिर्ख बहादुर राईका छोराछोरी हुन् । घटनाको थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्