अविरल वर्षाले राप्ती नदीमा पानीको सतह बढ्दो, बाँकेका तटीय बस्तीमा सतर्कता जारी
बाँके। लगातारको वर्षाका कारण राप्ती नदीमा पानीको सतह उच्च बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरले नदी आसपासका बासिन्दालाई सर्तक रहन आग्रह गर्नुभएको छ।
“वर्षा जारी छ र नदीको सतह बढ्दो छ,” घर्तिमगरले बताउनुभयो, “बाढी प्रभावित क्षेत्रमा सतर्कता अपनाउन र आवश्यक परेमा तुरुन्तै खटिन प्रहरी युनिटलाई तयारी अवस्थामा राखिएको छ।”

राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुका अनुसार नदीको बहाव रातिदेखि क्रमिक रूपमा बढिरहेको छ। राप्ती सोनारी जलमापन केन्द्रका अनुसार चेतावनी तह ४.७० मिटर पार गर्दै अहिले नदीको सतह ४.८६ मिटर पुगेको छ, जसका कारण जोखिम बढेको छ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार नदी किनारका बस्तीहरूलाई सतर्क रहन पालिकाको विपद् शाखामार्फत सूचना पठाइएको छ।
यस्तै, कुसुम क्षेत्रमा रहेको राप्ती नदी बाढी मापन केन्द्रका अनुसार सतर्कता तह नजिक पानीको सतह पुगेको छ। चेतावनी दिने सीमा ६ मिटर भए पनि अहिले सतह ५.७४ मिटर पुगेको छ।
भारतले अन्तर्राष्ट्रिय मापदण्ड विपरीत निर्माण गरेका लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण राप्ती नदीको बहाव अवरुद्ध हुँदै आएको छ। यसले गर्दा नेपाली भूभाग विशेषगरी राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका तटीय क्षेत्रहरूमा वर्षेनी डुबानको जोखिम कायम रहँदै आएको छ।
प्रतिक्रिया राख्नुहोस्