तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासङ्घ युकेले मनायो १४औँ वार्षिकोत्सव

लन्डन । नेपाल पत्रकार महासङ्घ युकेले आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा आयोजित आइतबार आयोजित कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायत शाखा अध्यक्ष विमला सेनेले संयुक्त रूपमा गर्नुभयो।

कार्यक्रममा राजदूत घिमिरेले यहाँका पत्रकारहरूलाई आगामी दिनमा ब्रिटिस मेन स्ट्रिम मिडियामा कसरी आबद्ध हुन सकिन्छ त्यसबारे सोच्न सुझाउनुभयो । पत्रकारिता क्षेत्रमार्फत बेलायत नेपाल सम्बन्ध प्रगाढ बनाउन अतुलनीय योगदान पुगेको पनि उहाँले बताउनुभयो । 

राज्य बलियो बनाउन राज्यको चौथो अङ्ग पत्रकारिताको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै राजदूत घिमिरेले फुटेर भन्दा जुटेर शक्ति बढाउने काम गर्न आग्रह गर्नुभयो । सङ्घसंस्था सङ्ख्यात्मक भन्दा पनि दरिलो, भरपर्दो एवं विश्वसनीय बनाउन उहाँको सुझाव थियो ।

कार्यक्रममा नेपाल महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले वैदेशिक शाखाको पहिलो महिला अध्यक्ष विमला सेनेलाई प्रत्यक्ष बधाई दिन पाउनु गर्वको विषय भएको बताउनुभयो। नेपालदेखिको पत्रकारिताको हुटहुटीलाई निरन्तरता दिन विदेशमा समेत यस पेसामा क्रियाशील हुनु चुनौतीपूर्ण रहेको भन्नुहुँदै अध्यक्ष शर्माले बेलायतको पत्रकारिताबाट केही नयाँ सिकेर त्यो ज्ञान, सीप नेपालमा लैजान सुझाव दिनुभयो ।

पत्रकार वा पत्रकारिता विभाजित भए त्यसबाट सत्य तथ्य र विश्वसनीयतामा आँच आउने औँल्याउँदै उहाँले जबाफदेही भएर समुदायका मुद्दा उजागर गर्न आग्रह गर्नुभयो । अहिले नेपालको पत्रकारितामा आर्थिक मन्दीले समयमा तलब नपाउनु, मिडिया बन्द हुने क्रम जारी, प्रेस स्वतन्त्रता हनन जस्ता कयौँ चुनौती सामना गर्नु परिरहेको उल्लेख गर्दै अध्यक्ष शर्माले जस्तो परिस्थितिमा पनि जबाफदेही पत्रकारिता गर्नु पत्रकारहरूको दायित्व भएको बताउनुभयो ।

शाखा अध्यक्ष विमला सेनेले अग्रजहरूको मार्गदर्शन मानेर अगाडि बढ्ने जनाउँदै बेलायतमा बसेर पनि सानातिना कुरामा अल्झँदा समुदायमा राम्रो सन्देश नजाने भएकाले सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभयो।

कार्यक्रममा शाखाले यसै वर्षदेखि सुरु गरेको वर्ष पत्रकारिता सम्मान २०२५ बाट पत्रकारिता क्षेत्रमा विगत पाँच दशक लामो योगदान दिनुभएका बिबिसी नेपाली सेवाका पूर्व प्रमुख वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई प्रदान गरेको छ । उहाँलाई २५१ पाउण्ड नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

सो अवसरमा कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले शाखाको १४ वर्ष यताका गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button