तपाईँ सुन्दै हुनुहुन्छः

सन्तानेश्वर महादेव मन्दिरमा भक्तजनको भीड, धार्मिक पर्यटनको सम्भावना उजागर

बाँके। साउन महिनालाई विशेष गरी हिन्दू महिलाहरुले पवित्र मान्ने गर्छन् । सोमबारको दिन ब्रत बसेर भगवान शिवको पूजा गर्ने चलन छ । यसै अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाको चुरे पहाडको चुचुरोमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

ब्रतालु महिलाहरु हाईकिङसहित मन्दिर पुगेर पूजा, भाकल र आराधना गर्छन् । सन्तान प्राप्तिको कामनासहित पूजा गरे यहाँ इच्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको मन्दिर संरक्षक बाबा योगानन्द गिरी बताउँछन् ।

उनका अनुसार, “सन्तानेश्वर मन्दिरको पहाडको चुचुरो मुनिबाट गंगा, जमुना र सरस्वती प्रवाहित भएकाले यो स्थल विशेष पुण्यभूमिका रूपमा मानिन्छ । तीन दिशाबाट निस्किएको जलधाराले मन्दिरलाई अद्वितीय बनाएको छ ।”

नेपाल र भारतका विभिन्न क्षेत्रबाट भक्तजन तथा धार्मिक पर्यटकहरू यहाँ आउने गरेका छन् । पछिल्लो समय सार्वजनिक बिदामा विशेष चहलपहल देखिन्छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार, “धार्मिक पर्यटनका दृष्टिले सन्तानेश्वर क्षेत्रमा ठूलो सम्भावना देखिएको छ ।”

मन्दिरमा वर्षभर भक्तजनको ओइरो लाग्ने भए पनि पूर्वाधारको अभावमा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । संरक्षक गिरीले आश्रमको अवस्था दयनीय रहेको उल्लेख गर्दै खानेपानी, विश्रामस्थल र सडक जस्ता आधारभूत संरचनाको माग गरेका छन् ।

यसैबीच, नरैनापुर गाउँपालिकाले मन्दिर क्षेत्रको विकासका लागि डिपिआर तयार गरिरहेको छ भने प्रदेश र संघीय सरकारसँग बजेट माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिनु भयो।

उनका अनुसार, संघीय सांसद सूर्य ढकालको संसद विकास कोषबाट प्राप्त १ करोड रुपैयाँ बजेटबाट मन्दिर जाने बाटो निर्माण भइरहेको छ । थप बजेट प्राप्त भए मन्दिरसम्मको सडक पूर्ण निर्माण गरिने छ । साथै, साउनको अन्तिम सोमबार मन्दिर परिसरमा विशेष कार्यक्रम आयोजना गरिने तयारी गरिएको पनि वली बताउँछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button