वीरगंजमा दुई दिनदेखि सिमसिमे झरी, अझै ठुलो वर्षाको आशामा किसान

वीरगंज । शनिवार साँझ देखि परेको सिमसिमे झरीले उखर्माउलो गर्मीका कारण प्रभावित वीरगंज सहित मध्य तराईका पर्सा, बारामा राहत पुगेको छ ।
हिजो साँझ देखि आज दिनभर सिमसिमे झरी परेको भएपनि आकाशे पानीको भरमा धान रोप्ने कृषकलाई खेत रोप्ने गरी पानी नपर्दा अझै निराश रहेका छन् ।
प्रचण्ड गर्मी सँगै खडेरीका कारण खानेपानीका धारा सुकेपछि झण्डै डेढ महिना देखि खानेपानीको हाहाकार भएको यस क्षेत्रमा अझै मूल फुट्ने गरी पानी पर्न नसकेको र आकाशे पानीको आशामा रहेका किसानहरूको खेत रोप्न अझै केही मात्रामा बाँकी रहेको कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाले बताउनुभयो ।
उहाँले पर्सामा आज सम्म ८७ प्रतिशत धान रोपाई सम्पन्न भइसकेको र अन्य जिल्लाका तुलनामा पर्सामा रोपाई बढी हुनुमा गण्डक नहर, डिप बोरीङ्ग, स्यालोट्युबेल मार्फत सिँचाई गरेर रोपाई गरिएको बताउनुभयो ।
शनिवार साँझ देखि परेको वर्षाले जनजीवनमा राहत पुर्याउनुको साथै रोपी सकेर पानीको अभावमा धाँजा फाटेको खेतलाई समेत फाइदा पुर्याएको सूचना अधिकारी थापाले जानकारी दिनुभयो ।
यसैबिच सुख्खाग्रस्त वीरगंजमा प्रदेश सरकार मार्फत नेपाली सेना तथा वीरगंज महानगरपालिकाले पानी वितरणलाई जारी राखेको छ भने खानेपानीका लागि नगर क्षेत्रका टोल टोलमा बोरीङ्ग मार्फत पानी वितरण भइरहेको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
लामो समयदेखि खडेरी प्रभावित यस क्षेत्रमा जमिनको सतह मुनि भिज्ने गरी अव वर्षा हुने अपेक्षा आफूहरूले लिएको पर्सा बिरुवा गुठीका किसान भुवन पौडेलले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्