तपाईँ सुन्दै हुनुहुन्छः

निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिनुभएको छ ।

आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सूक्ष्म रूपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।

सीमित स्रोत साधनका बिच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सिआइबीलाई साधन स्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गर्नुभयो । मुलुकमा पछिल्लो समय वित्तीय अपराधका घटना बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिनुभयो ।

“प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ”, उहाँले भन्नुभयो, “प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको भन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रूपमा बजेट बढी विनियोजन गरिएको छ ।” 

प्रहरीभित्र सिआइबीको महत्त्वपूर्ण जिम्मेवारी रहेको भन्दै उहाँले जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्तिलगायतका विकास गरिनेमा जोड दिनुभयो ।

त्यस अवसरमा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायत विषयमा प्रस्तुति राख्नुभएको थियो । 

वरिष्ठ उपरीक्षक बोगटीले सिआइबीले निर्मला पन्त हत्या प्रकरणका साथै अन्य घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायत सिआइबीका कार्यरत प्रहरी अधिकारीको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button