तायाः मचा नृत्य प्रतियोगितामा ३५ टिम सहभागी हुने
पोखरा । पोखरामा हरेक वर्ष हुँदै आएको तायाः मचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा–३० शिशुवामा हुने भएको छ ।

नेवा खल कास्कीको आह्वान तथा नेवा: खल: शिशुवाको आयोजनामा श्रावण ३१ गते शनिवार कास्की जिल्ला स्तरीय तायाः मचा नृत्य प्रतियोगिता हुने भएको नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो । ‘कला संस्कृतिको संरक्षण, भावी पुस्तालाई हस्तान्तरण’ भन्ने मूल नारासहित कृष्ण जन्माष्टमीको अवसर पारेर साबिक लेखनाथ क्षेत्रमा पहिलो पटक प्रतियोगिता हुन लागेको उहाँले जनाउनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समूहले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीयले ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीयले ५५ हजार ५ सय ५५ रुपैयाँ र चौथो हुनेले २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महिलातर्फ क्रमशः प्रथमले ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २५ हजार र चौथो हुनेले २० हजार रुपैयाँ पाउनेछन् । साथै प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमलाई १५ हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका मुख्य संयोजक अर्जुन कुमार ताम्राकारले बताउनुभयो ।
यस वर्षको प्रतियोगितामा ३५ टिमले सहभागिता हुने भएको उहाँले जनाउनुभयो । गत वर्ष ३० टिम (२८ प्रतिस्पर्धी, २ सहभागी) रहेकोमा यस वर्ष ३५ टिम पुग्नु सकारात्मक भएको उहाँले जनाउनुभयो ।
कार्यक्रममा पोखरा–३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, वडा–१ का अध्यक्ष सहारा प्रधान र सहसंयोजक भैरवलाल श्रेष्ठले प्रतियोगिता सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्