प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तान भ्रमण जानु अघि मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार बस्ने गरेको छ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज त्यसतर्फ जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११ः५५ बजे ‘फ्लाई दुबई’को उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जानुहुने छ ।
तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको हो ।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्