बुटवल उपमहानगरपालिकाद्वारा छोरीहरूलाई निःशुल्क प्राविधिक शिक्षा
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले छोरीहरूलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गरेर समाजमा एउटा सशक्त सन्देश दिएको छ । स्थानीय सरकारको पहलमा सञ्चालन गरिएको यो कार्यक्रमले न पढ्न पाएका छोरीहरूलाई पढ्न मात्र हैन, सीप सिकेर आत्मनिर्भर बन्ने अवसर समेत दिएको छ ।

आर्थिक अभाव, पारिवारिक समस्या वा अवसरको अभावले प्राविधिक शिक्षा लिन नपाएका ४० जना छोरीहरू अहिले बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) मा प्रि-डिप्लोमा तहको इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिङ पढिरहेका छन् । उनीहरूले न त कुनै शुल्क तिर्नुपरेको छ, न त शैक्षिक सामग्रीको चिन्ता गर्नुपरेको छ,सबै व्यवस्था बुटवल उपमहानगरपालिकाले गरिदिएको छ ।
उपमहानगर प्रमुख खेलराज पाण्डेयका अनुसार यो कार्यक्रम ती छोरीहरूका लागि हो, जसमा पढ्ने इच्छा थियो, सपना थियो, तर साथ थिएन । यसरी पढ्नेहरू सबै उपमहानगरभित्रका मात्रै छैनन् तर प्राथमिकता भने स्थानीयलाई दिइएको थियो ।
‘छोरी पढाऊ, समाज बनाऊ’ भन्ने नारासहित सुरु गरिएको यो अभियानको कार्यान्वयन त्रिपक्षीय सम्झौतामार्फत भएको हो । बुटवल टेक्निकल इन्स्टिच्युटमा सैद्धान्तिक र देवदह मेडिकल कलेजमा व्यवहारिक तालिम दिइँदै छ । प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालका अनुसार यो सम्झौता केवल तालिमका लागि हैन, सामाजिक परिवर्तनको बीजारोपणका लागि गरिएको हो ।
यस अभियानमा बुटवलका मात्र नभई आसपासका जिल्लाहरू जस्तै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, दाङ, रोल्पा, रुकुम, नवलपरासी र कपिलवस्तुका छोरीहरूको सहभागिता छ । आदिवासी, जनजाति, दलित र आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका छोरीहरू यस अभियानमा सहभागी छन् ।
कार्यक्रममा सहभागी छोरीहरूका अनुहारमा आत्मविश्वास झल्किन्छ । गुल्मीकी चन्द्रकला कुमाल भन्नुहुन्छ, “हामी अवसरको खोजीमा थियौँ । अहिले यो प्राविधिक शिक्षाले हाम्रो जीवनको दिशा नै बदल्दै छ ।” उनीहरू सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीपमा पनि दक्ष बन्दै छन् ।
बीटीआईका तालिम प्रमुख मानकाजी कुमालका अनुसार महिलाहरूलाई सीप सिकाइमार्फत आर्थिक रूपमा सबल बनाउनु नै दिगो सशक्तीकरणको बाटो हो । यी छोरीहरूले अब प्लम्बर, वेल्डर, मिस्ट्री, टेक्निसियन, ग्यारेज सञ्चालक जस्ता स्वरोजगारका ढोका खोल्न सक्छन् ।
इलेक्ट्रिकलतर्फ उनीहरूले वायरिङ, मोटर मर्मत, ट्रान्सफर्मर जडान आदि सिकिरहेका छन् भने मेकानिकलतर्फ मोटर, पम्प, इन्जिन मर्मत, वेल्डिङ, फिटिङ आदिमा दक्षता हासिल गरिरहेका छन् । सीप मात्र हैन, स्वाभिमान निर्माणमा उनीहरू जुटिरहेका छन् ।
बीटीआईकी निमित्त प्रशासकीय अधिकृत सम्झना सुवेदीका अनुसार पढ्ने चाहना भएर पनि पछि परेका नानीहरूलाई यस्तो अवसर दिनु स्थानीय सरकारको ऐतिहासिक निर्णय हो । यसले साना परिवर्तनलाई दीर्घकालीन प्रभावमा रूपान्तरण गर्छ ।
पूर्व विद्यार्थी तथा जयन टेक्निकल कलेजकी प्रमुख नम्रता थापाले कार्यक्रमलाई समावेशी र रूपान्तरणमुखी भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्