तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको छ । 

महाराजगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चिकित्सकहरू सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधार स्तम्भ नै नर्सहरू रहेका उल्लेख गर्नुभयो ।  

बिरामीको उपचार, उनीहरूको मनोबलमा वृद्धि, आपतकालीन अवस्थामा सेवा र बिरामीहरूलाई परामर्श जस्तो नर्सिङ सेवाका कारण नै अहिले नेपाली नागरिकमा स्वास्थ्यमा पहुँच, मातृ–शिशु स्वास्थ्यमा सुधार तथा ग्रामीण क्षेत्रसम्म नै  स्वास्थ्य शिक्षाको सचेतना अभिवृद्धि भएको उहाँले बताउनुभयो । 

मन्त्री डा राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकूल तालिम र प्राविधिक संसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री डा राणाले भन्नुभयो “नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रूपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रूपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरूको यो भूमिका आवश्यक छ ।”

उहाँले नेपालमा सेफ मदरहुड नेटवर्क मार्फत मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेशालाई समयानुकूल सुविधा सम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 

मन्त्री डा राणाले नर्सिङजस्तो महत्त्वपूर्ण र संवेदनशील विषयका स्नातकहरूलाई आफ्नो अध्ययनलाई थप अब्बल र व्यवहारिक बनाउन एवं नरम व्यवहार तथा सेवा मार्फत बिरामीहरूको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न सुझाव पनि दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button