बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिनुहुने
मकवानपुर।बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आज (आइतबार) पदबाट राजीनामा दिनुहुने भएको छ । यसअघि पदबाट राजीनामा नदिने अडानमा रहनु भएका लामाले सर्तसहित पदबाट राजीनामा दिन तयार हुनु भएको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग शनिवार बुढानीलकण्ठमा भएको छलफलपछि लामा सशर्त राजीनामा दिन तयार हुनुभएको हो । देउवाको उपस्थितिमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गर्नुभएका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्तमा पदत्याग गर्न सहमति भएको लामा निकट प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले जानकारी दिनुभएको छ । ‘हामीले तीन जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुपर्ने अडान राख्यौँ । सभापतिज्यू र इन्द्रजीले सहमति जनाउनुभयो,’ चित्रकारले भन्नुभयो, त्यसपछि मुख्यमन्त्रीले आइतबार राजीनामा दिने निर्णय भएको हो ।’
आइतबार हेटौँडामा मन्त्रीपरिषद्को बैठक बसेर पत्रकार सम्मेलन गरेपछि राजीनामा दिने उहाँले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित हुनुभएको थियो । दलको नेतामा हार बेहोरेपछि उहाँलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो । सभापति देउवाले शुक्रवार लामालाई निवासमा बोलाएर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको थियो । शनिवारको छलफलमा बानियाँ, लामा र लामाको पक्षमा रहेका १४ जना प्रदेशसभा सदस्य सहभागी हुनु हुन्थ्यो । छलफलमा पार्टीभित्रको विभाजनलाई मिलाएर अघि बढ्ने विषयमा पनि सहमति भएको चित्रकारले बताउनुभयो ।
मुख्यमन्त्री लामाले राजीनामाको तयारी गरे पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा भने अस्पताल डिस्चार्ज हुनुभएको छैन ।
प्रतिक्रिया राख्नुहोस्