तपाईँ सुन्दै हुनुहुन्छः

विपद् उत्थानशील समाज निर्माणका लागि संगठित हुन प्राधिकरणको आह्वान

बाँके। नेपालगञ्ज उप–महानगरपालिकामा सञ्चालित सातदिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न भएको छ।

समापन कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता सुरेश सुनारले विपद् उत्थानशील नेपाली समुदाय निर्माणका लागि सबैलाई संगठित भएर अघि बढ्न आह्वान गर्नुभयो। उहाँले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा विपद् पूर्वतयारीका प्रयास भइरहेका र तालिम सञ्चालन पनि त्यसैको एक भाग रहेको बताउनुभयो।

नेपालगञ्ज उप–महानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले विपद् सबैको साझा समस्या भएकाले सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले आज गरिएको पूर्वतयारीले भोलिको सम्भावित जनधन क्षति कम गर्न मद्दत गर्ने धारणा राख्नुभयो।

लुम्बिनी प्रदेश आन्तरिक तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारले विपद् व्यवस्थापनसम्बन्धी नीति र कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिँदै सहभागीलाई सिकेको ज्ञान र सीपलाई राष्ट्रिय सम्पत्तिको रूपमा उपयोग गर्न आग्रह गर्नुभयो।

प्राधिकरणको संयोजनमा नेपालगञ्ज उप–महानगरपालिकासँगको समन्वयमा तथा भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालको प्राविधिक सहयोगमा सम्पन्न तालिममा युएनडिपी, युनिसेफ, युएन वुमन, एचआइ र सिडिएमको सहकार्य रहेको थियो।

तालिममा नेपालगञ्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकाबाट ९ महिला सहित २४ जना नगर प्रहरी, दमकलकर्मी तथा समुदायस्तरमा सक्रिय स्वयंसेवीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button