आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट सात अर्ब बढी राजस्व सङ्कलन

मकवानपुर । आन्तरिक राजश्व कार्यालय हेटौँडाले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ७ अर्ब भन्दा बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयले कुल ८ अर्ब ६५ करोड ६७ लाख २२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ७ अर्ब २० करोड ४५ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले लक्ष्यको ८३ प्रतिशत सङ्कलन गर्न सफल भएको सूचना अधिकारी प्रेमप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । कार्यालयले गत आर्थिक वर्षमा आयकर तर्फ १ अर्ब ३७ करोड ४१ लाख, मूल्य अभिवृद्धि कर १ अर्ब २० करोड, अन्तःशुल्क ३ अर्ब ८४ करोड १३ लाख, स्वास्थ्य सेवा कर ६७ करोड ४० लाख ५६ हजार रुपैयाँ सङ्कलन गरेको सूचना अधिकारी तिमल्सिनाले जानकारी दिनुभयो ।
तिमल्सिनाका अनुसार पछिल्लो समय आर्थिक मन्दीका कारण ठुला उद्योग तथा व्यापार÷व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व सङ्कलनमा कमी आएको हो ।
कार्यालयले एक वर्षभित्र ३ सय ३४ पटक बजार अनुगमन गरेर १२ लाख ७५ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । व्यवसायीहरूले स्थायी लेखा नम्बर प्रमाणपत्र कारोबार स्थलमा झुण्ड्याएर नराखेको, करपाटी नराखेको, खरिद बिक्री खाता प्रमाणित गरी अद्यावधिक नराखेको, बिल बिजक जारी नगरेको, आय विवरण, मूल्य अभिवृद्धि कर विवरण पेश नगरेको अनुगमनमा पाइएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, अन्तःशुल्कमा दर्ता भएको उत्पादकले खरिद बिक्री खाता, मौज्दात खाता प्रमाणित नगराएको, अन्तःशुल्क इजाजत पत्र लिएर अन्तःशुल्क विवरण पेश नगरेकोलगायतका कैफियत देखिएकाले जरिवाना गरिएको सूचना अधिकारी तिमल्सिनाले बताउनुभयो ।
सूचना अधिकारी तिमल्सिनाका अनुसार गत आर्थिक वर्ष २०८१/०८२मा कार्यालयले २ हजार ७ सय ५८ जनालाई व्यावसायिक स्थायी लेखा नम्बर प्रदान गरेको छ । र गत आर्थिक वर्षसम्म आयकर दर्ता गर्ने करदाता ३४ हजार २ सय ६६ जना पुरेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षसम्म मूल्य अभिवृद्धि कर (भ्याट)मा ५ हजार ९ सय ७८ वटा फर्महरू दर्ता भएका छन् । यस्तै, अन्तःशुल्कमा १ हजार ५ सय ७३ वटा फर्म दर्ता भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्