बाजुराबाट ५० लाख बढीको कोदो जिल्ला बाहिर निर्यात
बाजुरा । दुर्गम तथा गरिबिको जिल्लाका रूपमा परिचित बाजुराले केही वर्षदेखि कृषि वस्तु जिल्ला बाहिर निर्यात गर्ने क्रम बढाउँदै गएको छ। कृषकहरूले कृषिमा अनुदान पाउन थालेपछि उत्पादनमा वृद्धि भएर कृषि उपज जिल्ला बाहिर निर्यात हुन थालेको हो ।

जिल्लाबाट २०८१/०८२ को आर्थिक वर्षमा ५० लाख बढीको कोदो मात्रै जिल्ला बाहिर निर्यात भएको छ। भने समग्रमा
करिब २ करोड ८० लाख बराबरको कृषि वस्तु जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम सहानीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको हिमाली क्षेत्रमा पाइने कोदो समेत जिल्ला बाहिरका सहरमा निर्यात हुन थालेपछि कोदो उत्पादनमा कृषकहरू उत्साहित भएर लागेको र अबका वर्षमा अझै उत्पादनमा वृद्धि भएर निर्यात समेत बढी हुने अनुमान गरिएको छ।बाजुरा बाट कोदो सँगै सिमी, आलु, बन्दा, कागती,सुन्तला,फापर लगायत कृषि उपज जिल्ला बाहिर निर्यात हुँदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

स्थानीय तहको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराले उत्पादनमुखी कार्यक्रम ल्याएर जिल्लालाई कोदो लगायत खेतीमा आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ ।आफूले उत्पादन गरेको कृषि उपज बारीबाटै खरिद गरी जिल्ला बाहिर निर्यात हुन थालेपछि कृषकहरू समेत उत्साहित भएका छन्।कृषि वस्तु निर्यातमा कृषकहरूलाई कृषि ज्ञान केन्द्र बाजुराले अनुदान सहयोग गर्दै आएको छ।
प्रतिक्रिया राख्नुहोस्