सरकार परिवर्तनको सम्भावना अहिले छैन: अध्यक्ष नेपाल
विराटनगर। एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सँग कुरा गर्नुहुँदै उहाँले नेपाली काँग्रेस र नेकपा एमाले पार्टी मिलुन्जेल सम्म सरकार परिवर्तनको सम्भावना नरहेको प्रस्ट पार्नुभयो ।
दुवै पार्टी मिलिन्जेल सम्म सरकार सञ्चालनका लागि बहुमत पुग्ने भएकाले यस्तो अवस्थामा सरकार परिवर्तनको कुरा कल्पना गर्न नसकिने उहाँको भनाई थियो । उहाँले सरकार परिवर्तन हुन्छ भन्ने कल्पना गर्नेभन्दा पनि पार्टीलाई थप सङ्गठित बनाउने अभियानमा आफू लागेको बताउनुभयो । उहाँले पार्टी भित्र नयाँ तथा प्रभावशाली व्यक्तिहरूको प्रवेश भइरहेकाले सबैलाई समेटेर पार्टी अघि बढ्ने बताउनुभयो ।
उहाँले नेकपा माओवादी पार्टीसँग आफ्नो पार्टीको एकीकरण भन्दा पनि समाजवादी मोर्चालाई निरन्तरता दिने र दुवै पार्टी बिचको सम्बन्धलाई विश्वासको जगमा खडा गरेर पार्टी पार्टी बिचको सहकार्यलाई थप मजवुद बनाउने विषयमा दुवै पार्टी बिच छलफल भइरहेको बताउनुभयो
एक प्रश्नमा उहाँले राष्ट्रपति तथा उप–राष्ट्रपति राजनीतिमा फर्कने कुरालाई संविधान कानुनले नरोक्ने भएकाले राजनीतिमा प्रवेश गर्ने विषय उहाँहरूको नैसर्गिक अधिकारको विषय भएको प्रस्ट पार्नुभयो । अर्को एक प्रश्नमा अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणको विषयमा कहिले पनि गलत काम आफूले नगरेको प्रस्ट पार्नुभयो ।
यो विषयमा कुनै भ्रष्टाचार भएको छैन, सबै विधि प्रक्रिया पुर्याएर कानुन सम्बद्ध रूपमा सबैको एकमत निर्णय भएको र सरकारी जग्गा एक टुक्रा पनि कसैलाई नदिएको र नेपाल सरकारलाई एक पैसा पनि नोक्सान हुने गरी आफूले कनै काम नगरेको उहाँले प्रस्ट पार्नुभयो
प्रतिक्रिया राख्नुहोस्