भेरी अस्पतालको प्रसूतिगृह योजना बजेट अभावमा अलपत्र
बाँके। सरकारले बजेटको व्यवस्था नगर्दा भेरी अस्पतालमा प्रसूतिगृह निर्माणको योजना अलपत्र परेको छ।
नेपालगन्ज मेडिकल कलेजले आमा सुरक्षा कार्यक्रम बन्द गरेपछि साउनदेखि भेरी अस्पतालमा सुत्केरी गराउन आउनेको चाप उल्लेख्य रूपमा बढेको छ। आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क सुत्केरी सेवा दिने व्यवस्था थियो।
भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालका अनुसार, बिरामीको चाप अत्यधिक भएपछि बेड अभावका कारण कतिपयलाई भुइँमै राख्नुपरेको छ। वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले अस्पतालमा नयाँ प्रसूतिगृह आवश्यक भइसकेको बताउँदै यसका लागि जनप्रतिनिधिहरूको पहलमा बजेट व्यवस्थापन हुनुपर्ने उल्लेख गर्नुभयो।
डा. सुवेदीका अनुसार करिब ४५ करोड लागत अनुमान गरी डिपिआर तयार भए पनि बजेट नआउँदा योजना अघि बढ्न सकेको छैन। प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाले आफूले पहल गरे पनि बजेट विनियोजन नभएको जानकारी दिनुभयो।
अस्पतालको तथ्यांक अनुसार, असारको अन्तिम १२ दिनमा १८१ जना सुत्केरी सेवा लिन आएकोमा साउनको पहिलो १२ दिनमा ३१४ जना पुगेका छन्। लेबर वार्डमा मात्र १० वटा बेड रहेकाले दैनिक ३० देखि ५० जनासम्मको चाप व्यवस्थापन गर्न गाह्रो भएको नर्सिङ निरीक्षक मेलिना श्रेष्ठले बताउनुभयो।
श्रेष्ठका अनुसार, १७ जना स्टाफ रहेको वार्डमा एक सिफ्टमा बढीमा चार जना मात्रै हुनु पर्ने हो तर कतिपय नर्सहरू अन्यत्र पनि ड्युटी गर्ने तथा विद्यार्थी भरमा सेवा सञ्चालन भइरहेकाले अस्पतालको सेवा गुणस्तरप्रति प्रश्न उठ्न थालेको छ।
इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले अस्पतालमा बेड नभएको भन्दै बिरामी फिर्ता पठाउनु गलत भएको टिप्पणी गर्दै सुत्केरी सेवा गुणस्तरीय बनाउन सर्वपक्षीय छलफल आवश्यक रहेको बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्